ग्रेड बढाएर पठाएको आशंका, कार्यविधिमा कडाइले आएन सुधार

|

धनगढी : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेकोमा सुदूरपश्चिमका विद्यालयहरूले अस्वाभाविक नम्बर दिएको पाइएको छ।

विशेषगरी कैलाली र कञ्चनपुरका सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएको पाइएको छ। विद्यालयले शिक्षा इकाइमा र इकाइले बोर्डमा प्राप्तांक पठाउँदा नम्बर बढाएर दिएको भेटिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका शाखा अधिकृत प्रताप धामीका अनुसार विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न राष्ट्रिय परीक्षा बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन नसकेको हो।

‘बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो,’ उनले भने, ‘कार्यविधिअनुसार विद्यालयले कारण खुलाउँदा विद्यालयले नै दिएको प्राप्तांक सदर भएको हो।’

विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो।

यता शिक्षा निर्देशनालय दिपायलका निर्देशक गणेशबहादुर सिंहले विद्यालयले पठाएको अंक अस्वाभाविक भए पनि बोर्डले घटाउन सक्ने व्यवस्था नरहेको हुँदा समस्या भएको बताए।

‘सर्वाधिकार विद्यालयलाई नै छ। शिक्षा विकास तथा समन्वय इकाइले केही सुधार गर्न सक्थ्यो, तर त्यसमा पनि विद्यालयले कारण खुलाइदिए केही गर्न सकिँदैन। त्यसैले विद्यालयहरूले पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ,’ उनले भने।

अस्वाभाविक नम्बर दिएको भेटिएपछि कतिपय शिक्षा विकास इकाइले यसपटक नतिजा संशोधन गर्न विद्यालयमै फिर्ता पनि पठाएका थिए। त्यो गर्दा पनि समग्र नतिजा अप्रत्याशित आएको हो। बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो। 

ग्रेड बढाएर पठाए

कोभिड महामारीका कारण गत वर्ष झै यो वर्ष पनि विद्यार्थीको सिकाई उपलब्धि मापन गर्न विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको ग्रेडलाई नै राष्ट्रिय परीक्षा बोर्डमा पठाएको हो।

‘विद्यालयका विषय शिक्षकले दिएको ग्रेडबारे विद्यालयले नै छानबिन गर्नुपर्ने भएकोले हामीले स्पष्टीकरणसहित आएको ग्रेडलाई बोर्डमा पठाइएको हो’, उनले भने, ‘विद्यालयका विषय शिक्षकले दिएको ग्रेड विद्यालयमा रहेको समितिले नै परीक्षण गरेर पठाएका थिए। हामीले त्यही माथि पठाएका हौँ।’

विद्यालयहरूले आफूखुसी ग्रेड दिने प्रवृत्तिलाई नियन्त्रण गर्न राष्ट्रिय परीक्षा बोर्डले यसपटक कार्यविधिमा कडाइ गरेको भए पनि विद्यालयहरूले भने विद्यार्थीका क्षमताको वास्तविक मापन गर्नभन्दा नतिजा राम्रो आओस् भन्ने हिसाबले ग्रेड बढाएर पठाएको आशंका गरिएको छ।

बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो।

सोही कार्यविधिअनुसार कारण खुलाएर विद्यालयहरूले दिएको प्राप्तांक सदर भएको बताइएको छ। शिक्षा निर्देशनालय दिपायलका निर्देशक गणेशबहादुर सिंहले विद्यालयले पठाएको अंक अस्वाभाविक भए पनि बोर्डले घटाउन सक्ने व्यवस्था नरहेको हुँदा समस्या भएको बताए।

एसईईको ग्रेड दिने सर्वाधिकार विद्यालयलाई नै दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाइले केही सुधार गर्न सक्थ्यो। तर त्यसमा पनि विद्यालयले कारण खुलाइदिए केही गर्न सकिदैन। त्यसैले विद्यालयहरूले पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको अधिकारीहरूले बताएका छन्। 

कार्यविधिमा कडाइले आएन सुधार 

यसपटक एसईईमा ४ लाख ८४ हजार २७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ। गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकोमा विद्यालयहरूले ९ हजार ३१९ जनालाई ४ जीपीए दिएका थिए।

विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.