भन्छन, ‘हाम्रो समस्या कसले बुझिदिने ?’

|

काठमाडौं : हातमा प्लेकार्ड, जसमा लेखिएको छ, ‘तपाईंको मास्क खै?’

त्यो कार्ड समाउन भ्याइनभ्याइ पनि उनीहरू हातका इसाराले सवारीसाधनलाई सहजता गरिरहेका छन्‌। यस्तै दृश्य अहिले उपत्यकाको चोक-चोकमा देखिन्छ। त्यति मात्रै होइन, भिडभाड हुने ठाउँमा कोभिड–१९ सचेतनाका लागि उनीहरू स्पिकरबाट सन्देश दिइरहेका भेटिन्छन्। कोही भने मास्क वितरण गरिरहेका हुन्छन्‌।

यी सबै अभियानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो। तर, आफ्नो तोकिएको ड्युटीमा खटिइरहेका ट्राफिक प्रहरीले अनेक काम गरिदिनुपरेको छ। उनीहरूलाई ड्युटी गर्नै सकस पर्ने गरेको छ। 

ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले दुखेसो पोखे, ‘प्लेकार्ड समाउनुपर्छ, त्यो समाउँदा चालकलाई हातको इसारा गर्न गाह्रो हुन्छ, फेरि रिबन भिर्न लगाइएकाे छ, झरेको झर्‍यै गर्छ, तै पनि भिर्नुपर्ने बाध्यता छ।’

स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने काम प्रहरीलाई गर्न लगाइँदा ड्युटी गर्न नै समस्या हुने गरेको ती प्रहरीले बताए। भने, ‘हाम्रो काम त सवारीसाधनलाई सहजता गर्नुपर्ने हो, तर कहिले मास्क वितरण गर्न लाउँछन्, कहिले स्टिकर टाँस्न, अब आफूभन्दा ठूला पदकाले खटाएपछि काम गर्नैपर्‍यो।’

ड्युटीमा खटिएका अर्का ट्राफिक प्रहरीले पनि पछिल्लो समय सवारीसाधनको सहजता गर्ने काम भन्दापनि स्वास्थ्य तर्फको काम बढी लगाइएको बताए। ‘हामीलाई कोभिड–१९ नियन्त्रणको काम लगाइएको छ, अनि मन्त्रालयका कर्मचारी भने के गर्ने हो र? यी काम त उनीहरूको हो नि! अब सर्वसाधारणलाई चेतना दिनु कि १५ लाख सवारीसाधनको ट्राफिक जाम व्यवस्थापन गर्नु? हामीलाई गाह्रो भइरहेकाे छ,’ उनले आक्रोशित हुँदै भने।  

अरूलाई बचाउँदा आफैँ जोखिममा

ती प्रहरीका अनुसार स्वास्थ्य सुरक्षाका साधन नहुँदा भीडभाडमा ड्युटी गर्न नै जोखिम छ। ‘१२ घण्टा ड्युटीमा खटिनुपर्छ, भीडभाडमा चालकसँग कुरा गर्नुपर्छ, हामीलाई सुरक्षाका लागि आवश्यक सामानहरू दिइएको छैन,’ उनले भने, ‘धुवा धुलोले कहिले ज्यान जान्छ, थाहा छैन।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पानीबाट बच्नलाई दिएको रेनकोट पनि गुणस्तरहीन भएको ती प्रहरीले बताए। ‘अहिले वर्षातको सिजन छ, पानी परिरहेको हुन्छ, रेनकोटबाट पानी छिर्छ, रुझ्दै ड्युटी गर्छौं,’ उनले भने।

पछिल्लो समय प्रोत्साहन भत्ता पनि काटिएको छ। ती प्रहरीका अनुसार तीन वर्ष अघिसम्म ट्राफिक प्रहरीहरूले चिट काटेबापत प्रोत्साहन स्वरूप २५ प्रतिशत भत्ता पाउने गरेका थिए। तर अहिले पाएका छैनन्।

‘कोभिड भएका कतिपय प्रहरीले बीमा पनि पाएका छैनन, यस्ता थुप्रै हाम्रा समस्या छन, अरू जस्तो बाहिर विरोध गर्न मिल्दैन, कसले हाम्रो समस्या सुन्छ, बुझ्छ?,’ उनले थपे।

यसो भन्छ महाशाखा 

ट्राफिक प्रहरी महाशाखाका अधिकृत जितेश दाहालले यो अभियान महाशाखाको स्वइच्छाले चलाएको बताए।

भने, ‘प्रहरी भनेको सुख दुःखको साथी हो, प्रहरीलाई जसले पनि विश्वास गर्छ, त्यसैले महामारीबाट बच्न यो अभियान चलाएका हौँ, कहीँ न कहीँ यस्ता दायित्व प्रहरीसँग जोडिन्छ, यसलाई भार भन्न मिल्दैन, जिम्मेवारी हाे, सबै निकाय लागिरहेका छन्‌।’

उनका अनुसार गत मंगलबारबाट यही अभियानका लागि ‘तपाईंको मास्क खै लेखिएको रिबन’ बाट अभियान चलाइएको छ। सर्वसाधारणलाई मास्क वितरण गर्न प्रहरी प्रधान कार्यालयबाट ८० हजार मास्क आएको छ। यस्ता कामले ट्राफिक प्रहरीलाई समस्या नहुने र शारीरिक अभ्यास हुने उनको तर्क छ। 

प्रहरीको स्वास्थ्य अवस्थालाई पनि ख्याल राख्दै सेवा गरिरहेको उनको भनाइ छ। ‘प्रहरीहरूलाई मास्क, चस्मा दिइरहेका छौँ, प्रत्येक १० देखि १५ दिनमा फेसशील्ड दिन्छौँ, अग्रपंक्तिमा खटिनेलाई पीपीइ दिएका छौँ, पानीबाट जोगिन ५०० वटा नयाँ रेनकोट पनि वितरण गरेका छौँ,’ उनले भने।

चुहिने रेनकोट पुरानो हुनसक्ने र उनीहरूलाई नयाँ प्रदान गर्ने पनि अधिकृत दाहालले बताए। राज्यले डिजिटल माध्यममार्फत सेवा सञ्‍चालन गरेपछि प्रोत्साहन भत्ता काटिएको उनको भनाइ छ।

भने, ‘अहिले धेरै काम अनलाइनबाट गरिन्छन्, चिट काटेको पनि सिधै राज्यको खातामा जान्छ, त्यसैले प्रोत्साहन भत्ता रोकियो।’ उनका अनुसार काठमाडौं उपत्यकाभर एक हजार ५५० जना ट्राफिक प्रहरी छन्।

मन्त्रालयले किन ट्राफिक प्रहरीलाई नै काम लाद्‌यो?

पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमणदर बढिरहेको छ। त्यसो त नागरिकको जीवन रक्षा गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको दायित्व हो। उत्तिकै जिम्मेवारी स्थानीय तहको पनि छ।

तर, यी निकायले कोभिड-१९ बाट बच्न अभियान चलाएका छैनन्। सामाजिक सञ्जालमा चेतनामूलक सन्देश देखिएपनि बाहिर गरेको पाइँदैन। बरु, प्रहरीहरू समस्यालाई झेल्दै चेतना दिइरहेका छन्। 

मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रकी निर्देशक राधिका थपलियाले मास्कलगायत स्वास्थ्य सुरक्षाका सामग्री वितरण नगरेपनि जनचेतना भने दिइरहेको बताइन।

ट्राफिक प्रहरी महाशाखाका अधिकृत दाहालले स्वइच्छाले अभियान चलाएको बताएपनि यता थपलियाले भनिन, ‘मन्त्रालयले नै प्रहरीहरू बढी सडकमा खटिने भएकाले चेतनामूलक कार्डहरू बोक्न लगाएका हौँ, मास्क वितरण गर्ने भन्दापनि हाम्रो लक्ष्य कसरी मास्क प्रयोग गर्ने? कसरी कोभिडबाट बच्ने भन्ने चेतना दिने हो।’

मन्त्रालयले उपत्यकासँगै बाहिर जिल्ला सुर्खेत र सर्लाही लगायत स्थानमा पनि यस्ता कार्यक्रमहरू चलाइरहेको उनको भनाइ छ। ‘मन्त्रालयले प्रदेश र स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गर्न पनि निर्देशन दिएको छ,’ उनले भनिन।

‘मास्क वितरण नगरेपनि महाशाखालाई दिएका छौँ’

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले स्थानीय तहले पनि कोभिड-१९ बाट बच्न माइकिङ गरिरहेको दाबी गरे।

‘महानगरले महाशाखालाई मास्क लगायत सामग्री दिएको छ, हामी आफैँले पनि माइकिङ गरेर जनतालाई सचेत गराइरहेका छौँ,’ उनले भने।

महानगर प्रहरीलाई खटाएर भिडभाड भएका त्यस्ता ठाउँमा चेतना फैलाइरहेको उनको भनाइ छ।

तस्वीर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.