|

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा बिहीबार बिहान वर्षा हुँदा सयौँ घर डुबानमा परेका छन्।

धनगढीको मुख्य सडक चौराहदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ। सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने पसलभित्र पानी पसेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभा सचिवालयको प्रवेश गेट अगाडी ठुला मात्रामा पानी जमेको छ। निर्माणाधिन अवस्थामा रहेको चटकपुरबाट क्याम्पस रोडसम्मको सडक पनि जलमग्न भएको छ। नाली निर्माण भइरहेकाले सडकमा पानी निकास नहुँदा यात्रा गर्न कठिनाइ भएको छ। सो सडकका कारण त्यस क्षेत्रका घरहरुमा पानी पसेको छ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, शिवनगर, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। यस्तै वडा नं १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ।

वडा नम्बर २ वाट पानी निकास भइरहे पनि विद्युत प्राधिकरण धनगढी शाखाको प्राङ्गण पनि जलमग्न भएको छ।  जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने विभिन्न क्षेत्र जलमग्न भएको बताउँदै विस्थापित नै हुने गरि डुबान नभएको बताए।

उनले भने, ‘विस्थापित नै हुने गरि डुबान भएको छैन। तर विभिन्न क्षेत्र र घरमा पानी पसेको छ।’ वर्षाले स्थानीयवासीका खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन्। पानी निकास हुने गरेका पुराना खोलानाला अतिक्रमण गरि भौतिक संरचना निर्माण भएपछि प्रदेशको अस्थायी मुकाम बर्सेनि डुबान हुँदै आएको छ।

(केही तस्वीर झलक)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.