अस्पतालहरूमा चाप बढ्यो, उपचार क्षमता बढाउन सुझाव

|

काठमाडौं :  पछिल्लो एक हप्तादेखि कोरोना संक्रमण दर पुनः उकालो लागेको छ।

नेपालमा गत वैशाख अन्तिम हप्तादेखि जेठको दोस्रो हप्तासम्म कोरोनाको दोस्रो लहर फैलँदा संक्रमणदर उच्च तहमा पुगेको थियो। पछिल्ला दिनमा ओरालो लागेर स्थिर अवस्थामा आइपुगेको संक्रमणको ग्राफ केही दिनयता फेरि उकालो लागेको थियो। 

हाल संक्रमणदर २५ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए। उनका अनुसार अहिले हरेक चार जनामा कोरोना जाँच्दा एक जनामा संक्रमण भेटिने गर्छ। 

उनका अनुसार साउनमा दैनिक १० हजारको हाराहारी कोभिड परीक्षण भइरहेको छ। जसबाट संक्रमित हुने दर २० देखि २५ प्रतिशत रहेको छ। ‘२५ प्रतिशतमा संक्रमण पुष्टि हुनु भनेको उच्च पोजेटिभ दर हो, तर केही हप्तादेखि हाम्रोमा संक्रमणदर २० देखि २३ प्रतिशतमै वरपर स्थिर अवस्थामा थियो, केही दिनयता बढेर २५ प्रतिशत पुगेको छ।'

केही दिनयता संक्रमण दर बढ्नुमा परीक्षण दायरा फराकिलो हुनु र निषेधाज्ञा खुकुलो हुनु रहेको उनको भनाइ छ। यसले पनि विस्तारै अस्पतालहरूमा उपचाररत संक्रमित बढ्न थालेका डा पौडेलले बताए।

संक्रमणदर लामो समयसम्म स्थिर रहँदा पनि अस्पतालहरूमा चाप बढ्न थालेको छ। यसको प्रमुख कारण हाल मेडिकल कलेजहरूमा कोभिड उपचार नभई सरकारी अस्पतालमा मात्रै हुनु भएको पौडेल तर्क गर्छन्। 

केही समय स्थिर रहेको संक्रमणदर विस्तारै उकालो लाग्न थाल्दा अब पुनः अस्पतालहरूमा उपचारको क्षमता बढाउनुपर्ने समेत उनले सुझाए।

कोरोनाको उपचार हुने प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोनाका बिरामीहरू बढ्न थालेका अस्पतालले जनाएको छ। अस्पतालमा हाल दैनिक २५ देखि ३० जनासम्म संक्रमित आउने गरेका छन्।

मन्त्रालयले बंगलादेश र नेपालमा कोभिड संक्रमित मृत्युदर उच्च रहेको पनि जनाएको छ। अफगानिस्तान, भारत र भुटानमा नेपालको दाँजोमा कम मृत्युदर देखिएको छ। नेपालमा १ दशमलव ५ प्रतिशत संक्रमितको मृत्यु भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार ३ हजार २६० जना कोरोनाका संक्रमित भेटिएका थिए भने आज ३ हजार ९ सय १५ जना थपिएका छन्। हाल देशभर ३८ हजार ७ सय ९८ जना संक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.