बोलीचाली र व्यवहार असहज, परिवारलाई नै झम्टन्छन्

|

इलाम : ४ दशकभन्दा लामो समय भारतीय जेलमा बिताएका इलाम माई नगरपालिका–१० लुम्बकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

चैत्र ८ गते घर फर्किएका दुर्गाप्रसादको पटक पटक स्वास्थ्य उपचार गरे पनि सुधार आउन सकिरहेको छैन। घर ल्याएपछि स्वास्थ्य अवस्था सुधार हुँदै आएको थियो। तर पछिल्लो केही सातादेखि स्वास्थ्य असामान्य बन्दै गएको उनका भतिज गोपाल तिम्सिनाले बताए।

‘शारीरिक अवस्था ठिकै छ। चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भनेका थिए। तर मानसिक अवस्था झनै बिग्रिँदै गएको छ,’ गोपालले भने। 

बिनाकसुर ४० वर्ष जेलमा यातना भोगेका उनीको बोलीचाली र व्यवहार असहज बनेको छ। ‘हिजोआज २/३ घन्टासम्मको पैदल हिँड्ने, सुत्ने कोठामा पिसाब गर्ने, जे पायो त्यही खाने, कुद्ने, अश्लील शब्दहरू बोल्ने र जेलमै पुर्‍याइदे भन्ने गर्नुहुन्छ’, गोपालले भने, ‘त्यति मात्र होइन, परिवारका सदस्य र बाहिरका मान्छेहरूसँग झम्टने पनि गर्न थाल्नुभएको छ। घर परिवारमै जोखिम आउन थालिसकेको छ।’

घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाइलगायत काम गराउन समस्या भइरहेको छ। दुर्गाप्रसादलाई १ नम्बर प्रदेश सरकारमार्फत गत वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो।

त्यस्तै माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो। तर उक्त उपचार पर्याप्त नभएको परिवारको गुनासो छ। उनलाई मानसिक अस्पताल वा सुधार गृहमा राख्नुपर्ने अवस्था आएको परिवारको भनाइ छ। विभिन्न निकायहरूमा सहयोगका लागि हारगुहार गरिरहे पनि आश्वासन मात्र पाएको गोपालले गुनासो गरे। 

४० वर्षसम्म जेलमा यातना दिएबापत कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिए पनि तिम्सिना परिवारका लागि क्षतिपूर्ति दिलाउन नेपाल सरकारले खासै पहल गरेको छैन।

विश्व सेवा विस्तार नामक उद्धार संस्थाका साथै सञ्चारकर्मीहरूको पहलमा दुर्गाप्रसाद कोलकात्तास्थित दमदम जेलमुक्त भएका थिए। इलामको मंगलबारे बजारमा तोरी बेच्न भनी हिंडेका उनी रोजगारीको सिलसिलामा दार्जिलिङ पुगेका थिए।

दार्जिलिङ पुगेर चिया बगानमा काम गर्दै गर्दा हत्या अभियोगमा सन् १९८१ मा पक्राउ परेका दुर्गाप्रसादले ४० वर्ष भारतीय जेलमा बिताए। उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो।

२०३७ सालमा हराएका दुर्गाप्रसादबारेमा लामो समय परिवारलाई पत्तो थिएन। करिब एक दशकअघि भारतबाट उनले घरमा चिठ्ठी लेखेपछि परिवारलाई थाहा भएको थियो।

उनीविरुद्ध दार्जिलिङ प्रहरीमा नैन घलेले उजुरी हाले पनि जाहेरवाला कुनै अड्डा/अदालतमा उपस्थित नहुँदा आरोप प्रमाणित त भएन नै, सुनुवाइसमेत नहुँदा अनाहकमा जेल जीवन बिताउनुपर्‍यो। 

जेलमै रहेको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी गत चैत ७ मा रिहा गरेको थियो।

चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए।

जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए। १० वर्षअघि दुर्गा प्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्को मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए।

त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए। यस्तो खबर आएपछि विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो।

जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो। चैत्र १३ गते भतिज गोपालले सनाखत गरेपछि उनले नेपाली नागरिकता पाएका थिए। 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.