|

धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।

सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए।

 ‘असारमै साँफे–मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्मको सडकमा पहिरो गयो। पहिरो गएपछि सडक बन्द भयो। आवतजावत ठप्प बन्यो‚’ उनले भने‚ ‘सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुलगायतका अन्य सामग्रीहरूको ढुवानी पनि बन्द भयो। जिल्लाभित्रका ग्रामीण सडकहरू पनि वर्षाले भत्किएपछि यातायात ठप्प छ। हामी समस्याग्रस्त समय गुजारिरहेका छौं।’

यस्तै‚ अर्का व्यापारी रमेश थापाले भने महँगी बढेको गुनासो गरे। पहिले सडक सञ्चालन हुँदा ५०० रुपैयाँमा आइपुग्ने सामानको ढुवानी खर्च अहिले दुई हजार रुपैयाँ बढी लाग्ने गरेको उनले बताए। ढुवानी महँगो हुँदा त्यसको मार ग्राहकमा पर्ने थापाको भनाइ छ। व्यापार व्यवसाय मात्र होइन सडक अवरुद्ध भएकाले बिरामीहरू पनि मर्कामा परेका छन्।

उनले भने, ‘हामीसँग स्टक भएको सामान सकियो‚ नयाँ सामान ल्यायो भने महँगो हुन्छ। ग्राहकहरूलाई कठिन हुने भएकाले ल्याउँन सकिएको छैन।’

सडक खुलाउन धेरै प्रयास गरिएका थिए। तर, ती प्रयास सफल भएका छैनन्। पहिरोले कतिपय ठाउँमा सडकको रुपरेखा सखाप पारेको छ। लगातारको वर्षाले स्थानीय तहबाट बजार अर्थात् सदरमुकामसम्म पुग्न समेत हिँडेर जानुपर्ने बाध्यता आइपरेको स्थानीयको पीडा छ। यस्तै‚ बाजुराबाट हुम्ला र मुगु जाने यात्रु पनि सास्ती खेप्न बाध्य भएको उनीहरु बताउँछन्।

यता, बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने चारैतिरको सडक सम्पर्क टुटेपछि अचेल नाकाबन्दी जस्तै भएको बताएका छन्।

‘अचेल बाजुरामा नाकाबन्दी जस्तै भएको छ। लामो समय भयो, सडक सञ्चालन गर्न हामी प्रयासरत छौं। स्थानीयले सास्ती व्यहोर्नु परेको छ‚’ उनले भने‚ ‘वर्षाका कारण बिग्रेको बाटो फेरि लगातारको झरीले झन् बिग्रँदै गएको छ।’

सदरमुकामदेखि साँफेसम्म सडक विभागले बनाउनुपर्ने तथा मार्तडी–कोल्टी र हुम्ला जोड्ने सडक पूर्वाधार विकास कार्यालयको जिम्मा रहेको प्रजिअ अधिकारी बताउँछन्। उनले भने, ‘जिम्मेवारी अनुसार केही दिनमै बाटो खोल्न अनुरोध गरेका छौँ।’

पाँच वर्षयता बाजुराको सदरमुकाम जोड्ने सडक बर्खामा नियमित रूपमा सञ्चालन हुन सकेको छैन। बर्खामा सडक अवरुद्ध भएसँगै वैकल्पिक उपायबारे छलफल हुने अनि हिउँदमा काम नहुने गरेकाले बाजुरावासीले बर्सेनि सास्ती व्यहोर्नु परेको छ।

चिर निन्द्रामा सरकार

गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुरालाई जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत उक्त सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। पानी पर्नसाथ उक्त सडक अवरुद्ध हुने गर्दछ।

बाजुरा जिल्ला जोड्ने मुख्य सडक तहसनहस भएको एक वर्ष हुँदासमेत सरकार भने चिर निन्द्रामा रहेको जिल्लावासीको आरोप छ। सडक क्षतिग्रस्त भएको एक वर्ष हुँदासमेत मर्मत वा विकल्पका विषयमा कुनै काम गर्न सकिएको छैन।

सुदूरपश्चिमको सबैभन्दा दुर्गम जिल्ला बाजुरामा एकवर्षदेखि सडकमा गएको पहिरोले समस्या हुँदा पनि सरोकारवाला निकायले समाधानका प्रयास नगरेकोमा जिल्लावासी निराश बनेका छन्। बाढी र पहिरोका कारण समय समयमा बाजुराका सडक अवरुद्ध त्यहाँका स्थानीयले भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.