|

हामीसँग कैयन यस्ता धार्मिक एवं सांस्कृतिक पर्वहरू छन्, जसले धर्म–संस्कृति संरक्षणसँगै वातावरणीय पक्षलाई पनि जिवन्त प्रदान गर्न योगदान दिइरहेका हुन्छन्।

यही सातामात्र सकिएको नागपञ्चमी होस् या साता अघिको घण्टाकर्ण चतुर्दशी या दशैँ, तिहार, छठ, उद्यौली–उभौली, कुशे औंशी, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी लगायतका पर्व नेपाली समाजमा महत्वपूर्ण मानिन्छन्‌।

यी चाडका सांस्कृतिक पक्षसँगै पर्यावरणीय पक्ष पनि जोडिएर आउँछ। नेवार समुदायमा लोकप्रिय गाईजात्रा, सिठीनखः, योमरी पून्ही लगायतका पर्व पनि समाज र पर्यावरणमा केन्द्रित छन्।

अहिलेको समाज सूचना-प्रविधि अनि आधुनिकताको संगममा छ। हामी आफ्ना धर्म–संस्कृति, रीतिरिवाज र परम्परालाई भुलेर आधुनिक र सभ्य भन्न रुचाउँछौँ। तर हामीसँग यस्ता व्यवहारिक पक्षलाई पृष्ठपोषण गर्ने पर्वहरू छन् भन्ने हामी धेरैलाई थाहा छैन। कस्तुरीभित्र बास्नादार बिना हुन्छ, तर ऊ आफ्नो बिना आफैँसँग बोकेर पनि अन्जान हुँदै यताउता भौँतारिन्छ।

ठ्याक्कै हामी पनि त्यस्तै भएका छौँ। वन, वातावरण र सरसफाइलगायत क्षेत्रमा नयाँ नयाँ अभ्यास खोज्दै हिँड्छौँ। तर हाम्रा पर्वहरूमा वातावरण संरक्षण र सरसफाइका कुरा सम्बोधन भएको थाहा पाउँदैनौँ।

​दशैंमा घर लिपपोत गर्नु, तिहारमा फूलको संरक्षण गर्नु र प्रकृतिका जीवहरूको संरक्षणका लागि पूजा गर्नु तथा हरिशयनी एकादशीमा अक्सिजन धेरै दिने वृक्ष तुलसी रोप्नु लगायतले प्रष्ट हुन्छ कि हाम्रा पर्वहरू कति वातावरणमैत्री रहेछन् भनेर।

जनै पूर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात खुवाउने अर्थात् ब्यांजा नकेगु भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मूला र भ्यागुते फूल आदि राखेर कृषकहरूले आफ्नो खेतमा र अरूहरूले आफ्नो घरको दैलामा राख्ने चलन छ। मानिस र जीवबीच सम्बन्ध प्रगाढ बनाउने पर्व हो।

नागपञ्चमीमा सर्प प्रजातिमा पर्ने नागको पूजासहित संरक्षणका निम्ति पानीका स्रोत आदिको सफा गर्ने चलन पनि निकै वातावरणमैत्री छ। हरितालिका तीजको ऋषि पञ्चमीका बेला सप्तऋषि पूजाका क्रममा विभिन्न जात–जातका फूल र विभिन्न घाँसको प्रयोगले पनि दर्साउँछ कि हाम्रा पर्वहरू वातावरणसँगै जोडिएका छन् भनेर।

दशैँका बेला घटस्थापना गर्दा जमरा बनाउन रोपिने जौ र फूलपातीका बेला ल्याइने विभिन्न वनस्पतीले गर्दा ती वनस्पतीको संरक्षणका लागि मद्दत पुर्‍याउने देखिन्छ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ। छठ पर्वमा पानीको मुख्य स्रोत नदि र पोखरी किनारलाई सफा सुग्घर गर्दै झिलिमिली सहित सजाएर राख्ने परम्परा छ। यसैगरी सूर्यको पूजाआजा पनि गर्ने चलन छ।

कुशे औँसीका दिन देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने गरिन्छ। यसले पनि वरपर वातावरणमा पाइने कुशको महत्व दर्साउँछ।

​वरपीपलको पूजा गर्ने र त्यसमा जल चढाउने संस्कृति नौलो होइन। यसले पनि यी रुख विरुवाका प्रजाति जोगिन र संरक्षण गर्न मद्दत पुर्‍याएको छ। प्रकृतिमा पाइने विभिन्न फूल तथा फल अनि दुबो भगवानलाई चढाइन्छ। जसले गर्दा पूजाआजाको लागि ती वस्तुका माग बढ्छन् भने यसले संरक्षणमा पनि मद्दत पुर्‍याउँछ। 

अहिले हामी बाग्मती सफाइ महाअभियान र प्लाष्टिक झोला निषेध गर्ने लगायतका अभियान चलिरहेका छन्। पहिले–पहिले टपरीको प्रयोग हुँदा वातावरण दूषित थिएन। टपरी प्रयोग गर्नेलाई पाखे भन्ने हाम्रो समाज अहिले विश्वमै समस्याका रुपमा रहेको प्लाष्टिकबाट पीडित भएको छ।

यस्ता सफाइ अभियान चल्नुभन्दा कैयौँ वर्ष पहिले इनार, कुवा, धारो, पँधेरो, खोला लगायतका पानीका स्रोतहरू सफा गर्ने चलन थियो। जेष्ठ शुक्लपक्षको षष्ठी  तिथिका दिन सिठी नखा पर्वमा पानीका मुहानहरू सफा गर्ने परम्परा नौलो होइन। तर, अभियान बोकेका टिर्सट लगाएर, हातमा पन्जा, मुखमा मास्क लगाएर एक दुईवटा प्लाष्टिक टिप्ने अनि फोटो खिचेर फेसबुकमा भित्तामा कत्ति न सरसफाइ गरे भन्ठान्ने समाजका ती व्यक्तिलाई के थाहा कि हाम्रा संस्कृति कति जीवन उपयोगी छन् भनेर। 

काठमाडौं उपत्यकाबासीमा अझै पनि खानेपानीको अन्यौल नै छ। हामी नयाँ पानीका स्रोत खोजी रहेका छौँ तर हाम्रो आधुनिक निर्माणका कारण ढुङ्गेधारा, पोखरी लगायत भएका धेरै स्रोत सुकिसकेका छन्। कति स्रोतको संरक्षण भएको छैन। केही स्रोतको जग्गामा अतिक्रमण भएको छ। कृषियोग्य जमिनमा ठुल्ठूला बङ्‍गला बनिसकेका छन्।

जसकारण सिँचाइ गर्न बनेका पुराना–पुराना नहर, राजकुलो या कुलो पनि अतिक्रमणको चपेटामा पर्दा आकाशे पानी संकलन भएर बग्ने र जमिनले सोस्ने प्रणालीको इतिश्री भैसकेको छ। बचेखुचेका केही कुलो र नहर पनि जग्गा प्लटिङवालाहरूले बाटो बनाइसकेका छन्।

पानी पर्याप्त नआउँदा बस्तीको बीच भागमा रहेका पोखरीहरू त्यसै सुक्दै र मासिँदै गएका छन्। दमकल नहुँदा आगलागीको समयमा आगो नियन्त्रणका लागि प्रयोग हुने पोखरी कति उपयोगी थिए भन्ने अहिले पानीको हाहाकार भोगेका व्यक्तिहरूले बुझ्दैछन्। 

सिठी नखा जस्ता पर्वले यी स्रोतको पहिचान गरि संरक्षणमा जोड दिन्छ। सिठी नखामा  नेवार समुदायले नागको पूजा गरी इनार, कुवा, ढुङगेधारा, कुलो, पोखरीलगायत पानीका विभित्र प्राकृतिक स्रोतहरू सरसफाइ गर्ने गर्दछन्। सुख्खा मौसमका कारण पानीका प्रमुख स्रोतहरू सुक्दै गएका बेला पानीका स्रोतहरू सरसफाइ गर्दा  पानीको आपूर्तिमा सहजता आउने विश्वास बुढापाकाको छ। तर अहिलेका मान्छेलाई पर्वको महिमा बुझ्ने गाम्भीर्यताभन्दा फेसबुक, ट्वीटरमा सेयर गर्ने र आवश्यक पर्दा संरक्षणमा आफैँ कस्सिने बानी छैन। स्थानीय निकाय वा सरकार भनेर औंलो ठड्याउने बानी विकास भएको छ। 

यस्ता पर्वले दिएको सन्देशअनुसार पानीको मुहानको सरसफाइ गर्दा पानीभित्र रहेका दूषित किटाणुको नास हुने गर्छ। जेठ–असारको गर्मीयाममा पानीको सतह कम हुने र सफा गर्न पनि सजिलो हुने मान्यतालाई वैज्ञानिक ढंगले पनि सहि मान्नुपर्छ। टोलबासी मिलेर गर्ने सरसफाइको काम अचेल वातावरण र खानेपानीका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूले गर्ने गरेका छन्। तर, त्यो पर्याप्त छैन।

सिठी नख शुभ दिन भएकाले यस दिन थालेको काम सफल हुन्छ भन्ने विश्वास गरिन्छ। यसले मानिसलाई वरपरको वातावरण सफा राख्नुपर्ने कुराको सम्झना गराउँछ। सिठी नखाका दिन नयाँ बीउ सुकाउने र बिजारोपण गर्ने गरिन्छ। वर्षातको संकेत असार आरम्भको समय भएकाले प्रमुख बाली धान रोपाइँ गर्दा असारे गीत घन्काउने पनि चलन छ। कृषि उपज बाली संरक्षण, खेतीपातीमा श्रम, पसिनाको लगानी गर्दै दिल बहलाउने खालका मीठा–मीठा गीत गाएर आनन्द लिने चलन पनि छ। मुगी, मास, केराउ, कुंकुम, चामलको पीठो, गहुँको पीठोको  परिकार बनाएर सिठी देवताको पूजा गर्ने चलन समेत रहेको छ।

पानीको स्रोत संरक्षण, सरसफाइ लगायतका काम गर्न सहयोग गर्ने माध्यम सिठी नखाजस्ता धेरै पर्वहरू छन्, जसले पर्यावरणलाई जोगाउन मद्दत पुर्‍याएको छ। जलको संरक्षणले मानिसको उद्दार हुने, जलमा निर्भर रहने विभिन्न जीवजन्तुले प्राणदान पाउने, सांस्कृतिक परम्परा जोगिने र धरोहरले जीवन्तता पाउने भएकाले सिठी नखा लगायतका विभिन्न पर्वहरू धर्म संस्कृतिको दृष्टिकोणले मात्र नभई वातावरणीय महत्व पनि वैज्ञानिक छन्।

फरक यति मात्र छ कि हाम्रो सोच, विचार र बुझाइमा परिवर्तन आउनु जरुरी छ। साथै सरकार या सरोकारवाला निकायले पनि नीतिगत ढंगले केही सुधार ल्याएर अगाडी बढ्नुपर्ने प्रष्ट देखिन्छ। पर्व–संस्कृतिलाई धपाएर होइन, संरक्षण गर्दै आधुनिकतातर्फ लागे पर्यावरण पनि जोगिने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.