|

काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरबाट एक हप्ता पहिले भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ परेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले यार्सागुम्बा लुटपाट घटनाका मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित सात जना लुटेराको समूहलाई पक्राउ गरेको हो।

एक किलोग्राम यार्सागुम्बा २८ लाखमा खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको यार्सागुम्बा उनीहरुले लुटेका थिए।  कानुनी प्रक्रिया पूरा गरी लामा र सापकोटाले डोल्पाबाट बिक्री गर्न ल्याएको एक किलोग्राम यार्सागुम्बा लुटपाट भएको हो।

लुटपाटमा संलग्न व्यक्तिहरुलाई काठमाडौंको सोह्रखुट्टे,  नयाँबजार र कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुटपाटको घटना साउन २४ गतेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखेडासहित दोलखा बैतेश्वर गाउँपालिका–२ घर भई ठमेल बस्ने ३२ वर्षीय मनोज कुमार श्रेष्ठ, रामेछाप दोरम्वा गाउँपालिका–४ घर भई नयाँबजार बस्ने २७ वर्षीय दिपक थापामगर र रोशन श्रेष्ठ, काभ्रे पाँचखाल नगरपालिका–१२ घर भई नयाँबजार बस्ने २७ वर्षीय बिशाल लामा, काभ्रे तिमाल गाउँपालिका–४ घर भई नयाँबजार बस्ने २३ वर्षीय योङदेन लामा, भारत कास्मिर आबुपाकर घर भई नयाँबजार बस्ने ३७ वर्षीय मोहम्मद ईसाक छन।

उनीहरुको साथबाट करिब सात किलोग्राम अवैध यार्सागुम्बा र एक लाख ५३ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.