वडा अधिवेशन अघि नै सहमतिमै सभापतिको उम्मेदवार तय गर्ने

|

काठमाडौं : आगामी मंसिरका लागि तय भएको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेताहरूबीच छलफल भएको छ।

क्रियाशील सदस्यता विवाद र संस्थापन इतर पक्षबाट एकल उम्मेदवारी दिने विषयमा नेताहरू छलफलमा बसेका हुन्।

सोमबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित  महामन्त्री शशांक कोइराला, पूर्व-महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरूबीच छलफल भएको हो। 

छलफलमा वडा अधिवेशनभन्दा सहमतिमै सभापतिको उम्मेदवार तय गर्नेबारे छलफल गरिएको केन्द्रीय सदस्य बलबहादुर केसी बताए। वडा अधिवेशन अगाडि नै संस्थापनइतर समूहको साझा उम्मेदवार तय गरेर महाधिवेशनमा लाग्ने उनको भनाइ छ।  

महाधिवेशनको मिति नजिकिँदै गर्दा पौडेलसहित महामन्त्री कोइराला, पूर्व-महामन्त्री सिंह, पूर्व-सहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका नेताहरू सभापतिको आकांक्षी छन्। 

त्यस्तै, संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै फेरि दोहोरिने तयारी गरिरहेका छन्। तर, उपसभापति विमलेन्द्र निधिले देउवालाई चुनौती दिइसकेका छन्।

कांग्रेस सभापतिमा आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन्। देउवासँग अर्को बलियो आकांक्षीको रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। 

१३ औँ महाधिवेशनमा पराजित भएका पौडेल यसपटक सभापति हत्याउने कसरतमा छन्। तर, देउवाइतर समूहबाट समेत एक जना मात्रै उम्मेदवार बन्ने स्थिति नरहेकाले पौडेललाई समेत पनि मुस्किल छ। 

देउवा र पौडेल मात्रै नभएर १३ औँ महाधिवेशनबाट तेस्रो शक्तिको रूपमा पूर्व-हामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटौला पनि दाबेदार हुने देखिन्छ। 

आगामी महाधिवेशनमा देउवासहित वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला मुख्य उम्मेदवारको रूपमा देखिएका छन्। महाधिवेशनलाई केन्द्रमा राखेर निधि, कोइराला र सिंहबीच यसअघि पटक-पटक भेटवार्ता भएको थियो। उनीहरुले पनि तीनमध्ये एकजना सभापतिको उम्मेदवारी  दिनेबारे छलफल चलाइरहेका छन्।

१३ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.