|

काठमाडौं : देश दुई वर्षदेखि कोभिड–१९ संक्रमणमै रुमलिएको छ। कोरोनाका कारण व्यापार नहुँदा होटल सञ्‍चालकदेखि लत्ताकपडा व्यवसायीसम्म मारमा परेका छन्।

अहिले पनि उपत्यकाभित्र निषेधाज्ञा कायमै छ। आवतजावतमा खासै समस्या नभएपनि ठूला सपिङ मलहरू पूर्णतः खुलिसकेका छैनन्‌। पसलमै पुगेर सामान छानेर खरिद गर्न पनि जोखिमपूर्ण छ।

महामारीकै बेला केही व्यवसाय भने निकै फस्टाएका छन्‌। तिनै व्यवसायमध्ये एक हो-अनलाइन व्यापार। पसलमा भौतिक रूपमै उपस्थित भएर सामान खरिद गर्न नसकेका/नचाहेका ग्राहकहरूलाई अनलाइन किनमेलले निकै राहत दिइरहेको छ। घर या नजिकैसम्म अनलाइन पसलेले नै सामान ल्याइदिने हुँदा उपभोक्तालाई सहज भइरहेको छ। 

किनुम्नाको दैनिक व्यापार ६० हजार

अनलाइन ‘किनुम्ना किनमेल सेवा’ का प्रबन्धक निर्देशक जीवन राउतले यतिखेर दैनिक ५० देखि ६० हजारसम्मको अनलाइन व्यापार हुने गरेको बताए। अहिले किनुम्नाले बढी इलेक्ट्रोनिक्स र सबै प्रकारका लुगाहरू होम डेलिभरी दिने गरेको छ। 

‘कोरोनाको सेकेन्ड फेजमा त दैनिक दुई लाख सम्मको व्यापार हुन्थ्यो, अहिले अफ सिजन भएकाले व्यापार घटेको छ,’ उनले भने। किनुम्नाले वार्षिक पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनले सुनाए। 

खानादेखि पिज्जासम्म होम डेलिभरी 

भोकलाग्योडटकमले खानादेखि विभिन्न परिकारको होम डेलिभरी गर्ने गरेको छ। भोक लाग्योका सुपरभाइजर शिव सिग्देलले अहिले दैनिक ३५ देखि ४० ग्राहकलाई सेवा दिने गरिएको बताए। 

उनले भने, ‘पहिले दैनिक ६० ग्राहकसम्मलाई सेवा दिने अवसर मिलेको थियो, अहिले भने घटेको छ।’ उनका अनुसार भोक लाग्योबाट मम, पिज्जा, खाना, बर्गर, चाउमिन, बिरयानी र फ्राई राइस लगायत परिकार अनलाइनबाटै माग गर्न सकिन्छ। 

उनका अनुसार फ्राई राइसको मूल्य २०० देखि ३०० रुपैयाँसम्म छ। मःम २७० देखि ३२० रुपैयाँसम्म पर्छ। पिज्जाकाे ४०० देखि ५०० रुपैयाँसम्म, बर्गरको २८५ देखि ४०० र चाउमिन परिकार २४० देखि २८० रुपैयाँसम्मको छ। ४०० देखि ४५० रुपैयाँसम्म तिरेर बिरयानी खान पाइन्छ।

खानाका परिकार ४०० रुपैयाँसम्मका छन्‌। ‘यी सबै परिकार उपत्यकाभित्र घरघरमै पुर्‍याउँछाैँ, हाम्रो भोक लाग्यो भन्ने फेसबुक पेज छ, त्यसबाट सम्पर्क गर्न सकिन्छ, त्यहाँ गएपछि म्यासेज छोड्न सकिन्छ, हामी तातो, मीठो र स्वादिष्ट परिकारको व्यवस्था गर्छौं,’ उनले भने।

घरमै आइपुग्छ घडी

‘द वाच लन्च’ ले पनि विभिन्न थरीका घडी होम डेलिभरी गर्नेगर्दछ। सो कम्पनीकी कर्मचारी अनु मालीले उपत्यकाभित्र मात्रै यी सेवा पाइने बताइन।

भनिन्‌, ‘अहिले अनलाइनबाटै दैनिक २० वटासम्म घडी बिक्री हुने गरेको छ, पहिला भने धेरै संख्यामा नै बिक्री हुन्थ्यो। डिजिटल र स्मार्टदेखि सबै प्रकारका घडी उपलब्ध गराउँछौँ।’ उनका अनुसार द वाच लन्चको वेवसाइट र फोन नम्बरमा ग्राहकले सम्पर्क गरे घडी घरमै पुर्‍याउने गरिएको छ।

​केही उपभोक्ता भने अनलाइन माध्यामबाट खरिद गरेको सामग्रीहरू गुणस्तरहीन हुने गरेको गुनासो गर्छन्‌। यस विषयमा भने उनी भन्छिन्, ‘सबै अनलाइन सप त्यस्तो हुँदैन, कसैले नराम्रो व्यापार गर्ला। तर, हामी त्यसरी ग्राहकलाई ठग्दैनौँ।’

लिक्वायर कारोबार दैनिक २५ हजार माथि

अंकल टिम्स लिक्वाइर्स पसल सञ्चालनमा आएको एक हप्ता भयो। यो पसलले अनलाइन व्यापार निकै राम्रो गरिरहेको छ।

पसल सञ्चालक आयुष थापा भन्छन, ‘कोभिडले गर्दा अनलाइन व्यापार राम्रो भएको छ, मैले शुरू गरेको एक हप्ता भएको छ, तर माग अत्यधिक छ। दैनिक दुई/तीन केस रक्सी ग्राहकको माग अनुसार घरघरमा पुर्‍याउने गरेको छु।’  

उनका अनुसार उनले नेपालमै उत्पादित खुकुरी रम र गोल्डेन वक लगायत रक्सीको कारोबार हुने गरेको छ। ‘एक केस रक्सी बिक्री गर्दा ३०० रुपैयाँसम्म नाफा हुन्छ,’ उनले भने, ‘दैनिक व्यापार भने २६ हजार रुपैयाँसम्म हुन्छ, राम्रै व्यापार भएको छ।’

‘पसलमा जाँदा भीडभाड हुन्छ, त्यहाँबाट कोरोना संक्रमण फैलिन्छ भनी धेरैले अनलाइनबाटै मगाउँछन्,’ थापाले भने, ‘त्यसैले लकडाउन भएदेखि नै सबै खाले अनलाइन व्यापार फस्टाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.