|
फाइल फोटो ।

गुल्मी : बाँदरले खेतीबाली खाइदिएर आतंक मच्चाउँदा धुर्कोट गाउँपालिका-५ का किसानले हैरानी ब्यहोरेका छन्‌। 

दुःख गर्दै मेहनतसाथ लगाएको खेती घरमा राख्ने समयमै बाँदरले खाइदिँदा किसानहरूमा निराशा छाएको धुर्कोट गाउँपालिका–५, वस्तुकी पार्वता भण्डारीले बताइन्।

खेतीमा कुनै रोग नलागे र जंगली जनावरले नोक्सान नगरे ६ मुरी उत्पादन हुने गरेकोमा बाँदरले नोक्सान गरिदिएका कारण अहिले एक मुरी जतिमात्रै मकै घरमा ल्याएको उनले बताइन्।

सोही स्थानका  जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा ८ देखि १० मुरीसम्म मकै उत्पादन हुने गरेको थियो। मकैमा दाना लागेदेखि नै बाँदरले सताउन थालेको उनले बताए। बाँदरले यस वर्ष चार मुरीभन्दा बढी मकै नोक्सान गरिदिएको उनले बताए। 

बाँदरले वस्तुका झण्डै दुईतिहाइ कृषकले हैरानी खेपेका छन्। त्यसका साथै धुर्कोट, गुल्मीदरबार गाउँपालिकाका, रेसुंगा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरू लगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताइरहेको छ।

बन्दुक पड्काउँदा पनि भागेनन्‌

बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट र गुल्मीदरबार गाउँपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरी किसानलाई दिए।

ठूलो आवाज निस्कने भएकोले केहीबेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको धुर्कोट गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए। गाउँ कार्यपालिकाले संघीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। 

डिभिजन वन कार्यालय, गुल्मीका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रण गर्न कुनै कार्यक्रम नभएको बताए। बाँदर नियन्त्रण गर्न अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकोले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.