|

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका एकजना स्तम्भकार टमस फ्रिड्म्यानले लेखेका छन्-- अफगानिस्तान सिङ्गो मुलुक रहन सकेन भने दोष अमेरिका र राष्ट्रपति जो बाइडेनलाई लाग्नसक्छ, तर अन्ततोगत्वा परिणाम भोग्ने/बेहोर्ने चाहिं छिमेकका देशहरूले होः पाकिस्तान, चीन, रुस र इरान। (२३ अगष्ट)

लेखक फ्रिड्म्यानले यस्तो निष्कर्षमा पुग्नुअघि तीनजना व्यक्तित्वसँग आफूले एकैसाथ अन्तर्वार्ता गरेको एउटा काल्पनिक चित्र प्रस्तुत गरेका छन्। संवादका लागि सोधिएका प्रश्न यथार्थको धरातलमा अडिएका छन् तर वार्ताको लागि छानिएका पात्रमध्ये चीनका सी चिनफिङ मात्र जीवित छन्; अमेरिकाका लिण्डन जोन्सन र अफगानिस्तानका अन्तिम राजा जहिर शाह दिवंगत भैसकेका पात्र हुन्।

जोन्सनलाई भियतनामको लडाञीमा अमेरिकी संलग्नता (र विफलता) सँग जोडेर हेरिन्छ। यसैगरी तत्कालिन राजा ​जहिर शाहलाई सन् १९७३ सम्म अफगानिस्तानलाई  एक शान्त र स्थायित्व भएको मुलुकको रूपमा जोगाउन सकेको श्रेय दिने गरिन्छ। 

चीनका राष्ट्रपति सीसँग फ्रिड्म्यान सोध्छन्ः अमेरिकी सेना फर्किनु त चीनको जीत हो नि, होइन ? तर सी सन्तुष्ट देखिदैनन्। खनिज वस्तुहरू भण्डार भएको अफगानिस्तानको सुरक्षा अमेरिकीहरूले गरिरहेका थिए, चीनको लगानीलाई अनुकूल वातावरण थियो। अब नहुने भयो। उल्टो तालिबानको जग्जगीले हाम्रातिरका उइगुर मुसलमानहरूलाई उक्साउने जोखिम पो बढ्यो। आदि, इत्यादि। 

स्तम्भकार फ्रिड्म्यानले अमेरिकाका जोन्सन र चीनका सीसँग दुई/दुई प्रश्न गरेका छन् र अफगानिस्तानका शाहलाई एक मात्र प्रश्न गरेका छन्। र, मूल प्रश्नमा जानुअघि उनको छोटो चिनारी दिएका छन्; चिनारी पछि आउने उत्तर भने अरुको भन्दा लामो छ। 

फ्रिड्म्यानको अघि बढ्ने शैली झण्डै यस्तो छः मोहम्मद जहिर शाह अफगानिस्तानका अन्तिम राजा थिए जसले सन् १९३३ देखि १९७३ सम्म राजकाज गरे। सन् ७३ मा आफ्नै बहिने-ज्वाइँले उनलाई अपदस्थ गरेपछि शुरू भएको सत्ता छिनाझप्टीको सिलसिला आधा शताब्दीसम्म चल्यो। लडाञी र बाहिरी आक्रमणले देश थिलथिलो भयो। जहिर शाह २२६ वर्षको इतिहास भएको ‘पस्तुन’ वंशका आखिरी राजा हुन पुगे।

पृष्ठभूमिमा यति बताइसकेपछि टमस फ्रिड्म्यान राजालाई स-सम्मान सम्बोधन गर्दै यो प्रश्न गर्छन्ः अफगानिस्तान छोडेर हिंड्ने राष्ट्रपति बाइडेनको निर्णय कस्तो लाग्यो? तालिबानको कब्जाबारे के भन्नुहुन्छ?

जहिर शाहको उत्तर यस ढङ्गले आउँछः--पहिले मेरो देशको बारेमा केही भनौं। सर्वप्रथम तपाईंले के बुझिदिनु प-यो भने हामी सदैव थरी-थरीका भाषा, संस्कृति र जातीय विविधताले समेटेर बनाइएको रङ्गीचङ्गी कलाकृति (मोज्येक) जस्तो भएर रहिआएका छौं। इस्लामप्रतिको हाम्रो दृष्टिकोणमा समेत अनेकता छन्।

यो त्यस्तो भावभूमि हो साबिकमा जस्तो थियो सधैं उस्तै रहने छ। १४ वटा जातीय समूह त अफगानिस्तानको राष्ट्रियगानमै प्रतिध्वनित भएको छन्ः पस्तुन, ताजिक, हजारा, उज्बेक, बलुच, तुर्कमान, नोरिस्तान, पामिर, अरब, गुज्जर, ब्राहु, किजिलबाश, आइमाक र पशाई। हामीकहाँ सुन्नी, सुफी र शिया गरी तीनथरी मुसलमान छौं। 

हेर्नोस्, मेरै नातेदारले मलाई राजाबाट अपदस्थ नगर्दासम्म मेरो नेतृत्वमा अफगानिस्तान शान्त देश रहनुको कारण मलाई जनताले एकताको प्रतीक मान्नु नै हो। सबै समुदायले राजासंस्थाप्रति अपनत्व राख्दथे। 

तालिबान फराकिलो कलाकृतिको एउटा अंश मात्र हो---पस्तुन-सुन्नी सम्प्रदायको एकथरी इस्लाम। २० वर्षअघि अमेरिकीहरूले तिनलाई सत्ताबाट बेदखल गरिदिए, त्यसपछिको समयमा तालिबानहरूको ध्याउन्न खालि कसरी ‘गुमेको’ अफगानिस्तान कब्जा गर्ने भन्ने मात्र भयो। आजको अफगानिस्तानलाई कसरी सुशासन दिने भन्ने सोच तालिबानमा पटक्कै आएन; छैन।

अब अर्को कुरो सुन्नोस्, फ्रिड्म्यान महाशय ! 

अफगानिस्तानको अहिलेको जनसंख्यामा सयकडा ७० मानिस २५ वर्षभन्दा कम उमेरका छन्। यिनले न तालिबानको बारेमा धेरै जानकारी राख्दछन् न त मुल्लाह ओमार को थिए भनेर चिन्दछन्। उस्तै उमेर समूहका इरानीहरूले इरानका शाहबारे केही थाहा नपाए जस्तै। यसरी, एउटा बेग्लै कालखण्डमा जन्मे-हुर्केका अफगानहरू विगत २० वर्षमा प्राप्त वैयक्तिक स्वतन्त्रता सहजसँग त्याग्न चाहँदैनन्--भलै देश नै अस्तव्यस्त अवस्थामा पुगेको किन नहोस्। 

विश्वको यस भू-खण्डमा बसोबास गर्ने जातीय समूहहरूमा एउटा कहावत छः (अघिपछि) म र मेरो भाइ भतिजाको विरोधमा हुन्छौं, तर फेरि हामी तीनैजना चाहिं बाहिरियाहरूको विरुद्धमा रहन्छौं। 

भन्नु परेन, अमेरिकीहरू ‘बाहिरिया’ भएको हुनाले तिनलाई लखेट्न अघि सरेका तालिबानलाई भाइ भतिजा सबैको समर्थन हुने गर्छ । कोही केही बढी सक्रिय होलान् कोही केही कम सक्रिय। तर तालिबानलाई देशभित्रका भाइ भतिजाहरू (१४ जातीय समूह समेतका) को व्यवस्थापन कार्य त्यति सजिलो छैन। आजको जमानामा एउटा देश कसरी सञ्चालन गरिन्छ त्यसबारे तालिबानलाई केही ज्ञान छैन।

भियतनामका राष्ट्रवादी नेता हो ची मीह्न निर्वासनमा बस्दा पनि पेरिसमा बसेका थिए। तर यी तालिबानका युवकहरूले धेरै पढेको भए पाकिस्तानका मद्रसाहरूमा पढेका होलान् जहाँ विज्ञानको त पढाइ नै हुँदैन।

अब पैसाको कुरो हेरौं। अमेरिकाले अधीनस्थ गरेको अफगानिस्तानमा पैसाको कमी भएन--अमेरिकीहरू सँगसँगै पैसो पनि आयो। साउदी अरेबियामा तेलले पैसा तानेको जस्तै। तर अब तपाईं अमेरिकीहरू स्वदेश फर्किए सँगै यहाँ पैसाको स्रोत पनि सुक्दैछ। कुन आम्दानीले सरकार चलाउने, कुन पैसाले कर्मचारीलाई तलब दिने ? आर्थिक समस्याका भिन्दै चाङ् छन्।

लागू पदार्थ युरोपतिर चोरी निकासी गर्दा हुने आम्दानी सीमित नै हुन्छ। चिनियाँहरूले तालिबानलाई उइगुरहरूबाट परै राख्नको लागि  धेरथोर सहयोग गर्लान्। तर भित्रै पसेर सञ्चालन गर्न त को अघिसर्ला र किनभने त्यसो गर्नु आर्थिक दायित्व थपि माग्नु जस्तो मात्र हुनजान्छ। 

मेरो भविष्यवाणी यस्तो छः तालिबानले देशका सबै जातीय समुदायको प्रतिनिधित्व हुने किसिमले राष्ट्रिय एकताको सरकार गठन गरेर खुकुलो निगरानीमा देशको शासन चलाउलान्। यसो ग-यो भने देशको एकता कायम रहन्छ र विदेशी सहायता पनि प्राप्त भैरहला। 

त्यसो हुन सक्यो भने राष्ट्रपति बाइडेनको सेना फिर्तीको निर्णय पनि तर्कसम्मत देखिनेछ। अमेरिकीहरू स्वदेश नफर्किनाले पो यतिञ्जेल राष्ट्रिय एकताको सरकार गठन गर्ने अफगान प्रयासमा अवरोध परेको रहेछ भन्ने निचोड आउने छ। 

तर तालिबानले यो बाटो नसमात्न पनि सक्छ। हुनसक्छ, तिनीहरूले मेरै वंशजका कुनै एक सदस्य खोजेर एकताको प्रतीक भनेर स्थापित गरुन्। म यहाँ एउटा कुरा दोहो‍-याउन चाहन्छु र त्यो के हो भने मेरो शासनकाल अफगान इतिहासमा सबैभन्दा शान्तिपूर्ण युग थियो।

तर कदाचित् तालिबानले सबै अधिकार आफैंमा राख्ने नियत गरे अर्थात् भाइ भतिजाहरूलाई बाहिर राखे भने त्यसको परिणाम भिन्दै हुनेछ। त्यस्तो एकाधिकारको विरुद्ध देशले आवाज उठाउने छ। अनि तालिबान चाहिं झन् कठोर नीति अख्तियार गर्नतिर लाग्नेछ। त्यस अवस्थामा तिनको शासनप्रणाली भित्रभित्रै मक्किएर धराशायी हुने हैन कि कठोर उपायको अभ्यासले देशलाई विघटनको बाटोतिर लग्नेछ।

अनि खण्ड-खण्डमा विभाजित अफगानिस्तान हेरेर हेरी-नसक्नुको भू-खण्डमा परिणत हुनेछ। मानिसले अमेरिका र बाइडेनलाई दोष दिनेछन् । तर ती टाढा-टाढा पुगिसकेका हुन्छन्। र, आखिरमा गएर समस्या झेल्नुपर्ने त अफगानिस्तानकै छिमेकीहरूले होः खास गरेर पाकिस्तान, चीन, रुस र इरान।

-०-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.