|

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आसपास पुग्ने जनाइएको छ। कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

शुक्रबार प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा र धनकुटा भइ बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्ने जनाइएको छ। यस्तै‚ प्रदेश २ को पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिराहा र सप्तरी भइ बग्ने नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ।

बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन र गण्डकी प्रदेशको नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व‚ कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालिकोट, जाजरकोट र सुदरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम भई नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहनु आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.