|

पर्वत : भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ।

११ जनाको ज्यान नै लिने गरी भएको भीषण वर्षाले सधैँ पहिरो जाने गरेकासहित नयाँ–नयाँ ठाउँमा गरी आठ किलोमिटर लम्बाइमा २० ठाउँमा पहिरो झरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रेसमबहादुर थापाका अनुसार जिल्लाको मोदी गाउँपालिका–५ देखि कुश्मा नगरपालिका–८ चुवासम्मको दूरी ठाउँमा ठाउँमा खसेको पहिरोले हालै कालोपत्रे गरिएको तथा गर्ने तयारी गरिएको सडक ध्वस्त बनेको छ।

कतिपय ठाउँमा सडकमाथिबाट आएको पहिरोले पुरेको छ भने कतिपय ठाउँमा सडक नै बगेर गएको छ। १८ गतेसम्म पनि लगातार वर्षा भएकोमा शनिबारबाट मौसममा सुधार आएपछि शनिबार बिहानबाट सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

‘चुवा र पातीचौरको साइड दुवैतर्फबाट एक्स्काभेटर लगाएर पहिरो पन्छाउने तथा बगेर गएको ठाउँमा ट्र्याक निकाल्ने गरी काम भइरहेको छ। थोरैमोरै छैनन् पहिरा पनि। दोबिल्लामा बाटो नै लच्केर तल गएको छ’ थापाले भने,  ‘शनिबार बिहानैदेखि चुवाबाट पहिरो पन्छाउने काम सुरु भएको हो, सोमबारसम्म दोबिल्लासम्मको भाग सफा गर्न सकिएला जस्तो लाग्छ। सबै बाटो सुचारु हुन करिब पाँच दिन लाग्न सक्छ।’

मध्यपाहाडीको काम गरिरहेको लामा कन्स्ट्रक्सनले पातीचौर क्षेत्रबाट दुई वटा र चुवा क्षेत्रबाट तीन वटा एक्स्काभेटर लगाएर काम गरिरहेको छ। पहिरोसँगै आएका ठूला ढुङ्गा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएमा अझै बढी समय लाग्न सक्ने प्रसनि थापाको भनाइ छ।

पर्वत खण्डमा झरेको पहिरोका कारण पर्वत हुँदै जानुपर्ने बागलुङ, म्याग्दी र मुस्ताङमा समेत सवारी आवतजावत बन्द भएको छ। जसका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमा कोही आकस्मिक बिरामी भएमा हेलिकोप्टर चार्टर गरेर पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता भएको छ।

कतिपय यात्रुहरू भने पोखराबाट पर्वतको मोदी गाउँपालिकामा पर्ने पातीचौर बजारसम्म सवारीमा आएर त्यहाँबाट करिब दुई घण्टा पैदल हिँडेर कुश्मा नगरपालिकाको चुवामा निस्केर आउने गरेका भेटिएका छन्।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिन लागेका यात्रीहरू कतिपय तिनै जिल्लामा त कतिपय पर्वतका होटलहरूमा पुगेर बास बसेका छन्।

पोखरा–पर्वत सडक अवरुद्ध भएपछि पोखरा–कुश्मा आउजाउ गर्नको लागि मोटरसाइकलले पोखरा–स्याङ्जा नाउडाँडा–कार्कीनेटा–कुश्मा सडक र ठुला सवारीले पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा सडक प्रयोग गर्नुपर्ने बाध्यता भएको छ। पोखरा–पर्वत सडक खण्डको तुलनामा ती दुवै सडकहरू निकै लामो दूरीका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.