|

काठमाडौं  : वैदेशिक रोजगारीमा इजरायल जाने कामदारलाई असोज दोस्रो सातासम्म पठाउने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले नेपाली कामदार तत्कालै माग गरेकाले छिटो परीक्षा लिएर पठाउने तयारी विभागले गरिरहेको छ। 

वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारका अनुसार २८ भदौमा  लिखित परीक्षा लिइने छ। सोही दिन परीक्षाको नतिजा प्रकाशन गरी अन्तरवार्ता गरिने छ। उनले भने, ‘अहिलेकै गतिमा काम भयो भने असोज दोस्रो साताबाट नेपाली कामदार इजरायल पठाउन सक्छौं।’   

इजरायलले नेपालबाट १ हजार केयरगिभर माग गरेको छ। यसमा ९ हजार ६ सय ९९ आवेदन परेको विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको विभागको इजरायल शाखा प्रमुख सुनुवारले जानकारी दिए। यसरी हेर्दा इजरायलले माग गरेको भन्दा ९ गुणा बढी आवेदन परेको हो। 

आकर्षक तलबसुविधा भएकाले रोजगारीमा इजरायल जान आकर्षण बढेको विभागले जनाएको छ। शाखा प्रमुख सुनुवारका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक तलब करिब १ लाख ९३ हजार रूपैयाँ हुन्छ। कामदारले खाने व्यवस्था आफैं गर्नु पर्छ भने आवासको व्यवस्था रोजगारदाताले नै मिलाउँछ।  

इजरायलमा ३ सय पुरुष (३० प्रतिशत) र ७ सय (७० प्रतिशत) महिला गरी हजार जनाले रोजगारी पाउने जानकारी उनले दिए। सम्झौतासँगै इजरायलले स्याहारसुसार, कृषि, होटल/रेस्टुरेन्ट, निर्माणलगायत विभिन्न क्षेत्रमा नेपालीलाई रोजगारी दिने छ।

इजरायलमा रोजगारीका लागि लिइने अंग्रेजी भाषा परीक्षामा ४० भन्दा बढी अंक ल्याउने उत्तीर्ण हुने छन् तर मेरिटका आधारमा छनोटमा परेकालाई मात्र अन्तरवार्ताका लागि बोलाइने छ।  

सरकारले इजरायल जान चाहने कामदारका लागि बनाएको मापदण्डअनुसार कामदार २५–४५ वर्षसम्मका, डेढ मिटर उचाइ र कम्तीमा ४५ केजी तौलका हुनुपर्ने छ। इजरायलको स्थानीय भाषा जान्नै पर्ने बाध्यता छैन। अंग्रेजी भाषाको ज्ञान भए पुग्ने छ।

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिनाको तालिम लिएको व्यक्ति इजरायलमा स्याहारसुसारको काम गर्न पाउने विभागले जनाएको छ।

करिब ११ वर्षपछि नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी खुलेको हो। आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको भए पनि श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ मा इजरायल जान रोक लगाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.