|

पाकिस्तानको दक्षिण पश्चिमी भूभागमा आइतबार भएको आत्मघाती आक्रमणमा ३ अर्द्धसैनिक मारिएका छन्। पाकिस्तानी अधिकारीहरूले आक्रमणमा २० जना घाइते भएको बताएका छन्।

पाकिस्तानका गृहमन्त्री शेख रसिदले जाँच चौकीमा जवानहरूको पालो फेरिने बेलामा आक्रमण भएको र आक्रमणमा अर्द्धसैनिक बलका ३ जवान मारिएको र २० जना घाइते भएको जानकारी दिएका छन्।

एक आत्मघातीले ६ किलोग्राम विस्फोटकसहित आफू चढेको मोटरसाइकल अर्द्धसैनिक बलको गाडीमा लगेर ठोक्काएको जानकारी क्वेटा प्रहरीका उपमहानिरीक्षक अजहर अक्रमले दिए।

बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट २५ किलोमिटर टाढा क्वेटा–मास्तङ सडकस्थित अर्द्धसैनिक बलको चेकपोस्टमा एक आत्मघाती तालिबान आक्रमणकारीले विस्फोट गराएको उपमहानिरीक्षक अक्रमले बताए।

पाकिस्तानको पृथकतावादी समूह तहरिक–ए–तालिबान (टिटिपी)ले आक्रमणको जिम्मेवारी लिएको छ। प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत टिटिपीको आत्मघाती आक्रमणको भर्त्सना गरेका छन्। 

छिमेकी अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानी सुरक्षा निकायमाथि लगातार आक्रमण भइरहेको र बढेको उनीहरूले जनाएका छन्। 

तालिबानले काबुल कब्जा गरेपछि गत महिना उनीहरूसँग फेरि सम्बन्ध जोडेको थियो। टिटिपीले त्यसयता पाकिस्तानी सेनालगायत सुरक्षा निकायमाथि निरन्तर आक्रमण गरिरहेको छ। 

अमेरिकी सैनिक फिर्तीसँगै अफगानिस्तानमा तालिबानको सत्तारोहणपछि पाकिस्तानको सरकार अफगान–पाक सीमामा सशस्त्र द्वन्द्व बढ्ने आशंकाले त्रस्त छ। गत साता एक पाकिस्तानका एक वरिष्ठ अधिकारीले टिटिपीका लडाकुहरूले अफगानी भूभागबाट पाकिस्तानमा हिंस्रक अभियान थाल्नसक्ने चिन्तामा सरकार रहेको बताएका थिए।

हुन त अफगानी तालिबानले कसैलाई पनि अफगानी भूमि प्रयोग गरी आफ्ना कुनै पनि छिमेकी देशमा विद्रोही आक्रमण हुन नदिने आश्वासन दिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.