जनकपुरधाम : महोत्तरीमा सञ्चालित सबै एफएम रेडियो बन्द भएको छन्।
नेपाल विद्युत प्राधिकरणले बक्यौता महसुल नतिर्ने जिल्लाका सबै रेडियोमा विद्युत आपूर्ति बन्द गरेपछि रेडियोहरू बन्द भएका हुन्।
गौशालाका ३ र बर्दिवासका ३ गरी सोमबार ६ वटा रेडियोको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख विक्रम साहले जानकारी दिए। उनका अनुसार यसअघि बक्यौता महसुल तिर्न सातदिने म्यादसहित सम्बन्धित संस्थालाई पत्र काटिएको थियो।
रेडियोमा अधिकतम ५ लाख रूपैयाँसम्म महसुल बक्यौता रहेको जानकारी उनले दिए। सञ्चारमाध्यमको हकमा १ लाख रूपैयाँभन्दा बढी महसुल बक्यौता रहेकाको लाइन काटिएको उनले बताए। बक्यौता नतिर्ने सबैको लाइन काटिँदै जाने उनको भनाई छ।
यता सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महोत्तरी अध्यक्ष राजकुमार श्रेष्ठले जिल्लाका सबै रेडियोको लाइन काटिएको जानकारी दिए। उनका अनुसार महोत्तरीमा १० रेडियो सञ्चालित छन्। कोरोना कहरले थला परेको सञ्चार क्षेत्रलाई यस्तो कामले अझै हतोत्साही पार्ने काम भएको उनको भनाई छ।
‘कोरोना कहरमा निषेधाज्ञाले समग्र सञ्चार क्षेत्र थला परेको छ। विद्युतको पैसा त हामीले तिर्नैपर्छ। तर, यसरी हतारिएर लाइन काट्न हुँदैनथ्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी छलफल गर्दैछौं। संस्थागत निर्णय गरेर अघि बढ्छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।