|

वर्ष दिनमा आयो तीज रिंग्दै घुम्दै सरर

कतिको त आँखाबाट आँसु बरर

छयत्तर सालदेखि शुरू भा को कोरोना

कति लाख मान्छेको लियो परान

 कोहीको लग्यो आमा चुँडी कोहीको पुछ्यो सिन्दुर

 भविष्यका सपना भए अधुरा

पोल्छ छाती भतभती नदेखिने खोपेर

क्यारी आयो दुश्मनले विश्व छोपेर

तालवेसी आमा समूहले रचना गरेर प्रस्तुत गरिएको यो तीजको गीतमा सतर्कता छ। कोरोनाकै कारण आफन्तजन गुमाउँदा हुने दुखको अनुभूति छ। कोरोना प्रभावितले भोग्नु परेको कष्ट, पैसा नहुनेको लागि महंगो जीवन लगायतका भावलाई सुन्दर रचनामा मौलिक भावले प्रस्तुत गरेका गरिएको छ।

कोरोनाले जमघटलाई छेके पनि मौलिक भाका र रचनात्मक कार्यलाई छेकेन। यसको ज्वलन्त उदाहरण हो तीज पर्व।

नमानेको मन

वर्षेनी आउने नेपाली नारीहरूको महान पर्व तीजले झन्डै २ वर्ष खुलेर रमाउन पाएको छैन। कोभिड-१९ को प्रभावले गतवर्ष र यसवर्ष पनि तीज दरको आयोजना, पारिवारिक भेला, नाचगान र उत्सव खुलेर हुन पाएको छैन।

मन त हो, वर्ष दिनमा एकपटक आउने पर्व जे सुकै होस् भनेर जितेर पर्व मनाउनेहरूले पनि भेटघाट र जमघट पछि सामान्य रूघा खोकी र भाइरल ज्वरोलाई नै पनि कोरोना हो कि भन्दै शंका मै सतर्क हुन् बाध्य छन्।

अन्त जान हुने, माइत आउन नहुने भन्दै धेरैका आमाबाले चित्त पनि दुखाए। एकथरीको अधिक सतर्कता, घरबाट बाहिरै ननिस्कने संकल्प र अर्कोथरिको लापरवाहीको परिणाम कोरोनालाई प्रत्यक्ष व्यहोर्नेहरूबाट सुन्न पाइन्छ।

यसो हेर्दा, अरूले जसरी भएपनि रमाइलो गरेको देख्दा मेरो चाहिँ छुट्यो कि भन्ने चिन्ता धेरै चेलीबेटीलाई भयो। कतिलाई यो कोरोना कहरमा कसैले नबोलाइदिए हुन्थ्यो जस्तो भयो। कतिलाई आफ्ना आफ्ना भएर भेला हुँदा त के नै भैहाल्छ र बोलाइदिए पनि हुन्थ्यो नि भन्ने पनि लाग्यो।

आफ्नो आफ्नो कथा र मनको बह, भावना आफ्नै परिवार र आफन्तसँग कसैले खुलेर बोले। कति चुप रहे, कति खुसी रहे, कतिलाई यसैले नमिठो दुखको भाव पनि दिलायो। यसको कारण अरू केहि थिएन, आफैंले आफ्नो मनलाई, चेतनालाई एकाग्र र स्थिर गराउन नसक्नु र रमाइलो र खुसी अरुबाट पाउने चिज हो एक्लै रमाउन सकिन्न भन्ने अभ्यासको कमी थियो।

यसो हेर्दा, अरूले जसरी भएपनि रमाइलो गरेको देख्दा मेरो चाहिँ छुट्यो कि भन्ने चिन्ता धेरै चेलीबेटीलाई भयो। कतिलाई यो कोरोना कहरमा कसैले नबोलाईदिए हुन्थ्यो जस्तो भयो। कतिलाई आफ्ना आफ्ना भएर भेला हुँदा त के नै भइहाल्छ र बोलाइदिए पनि हुन्थ्यो नि भन्ने पनि लाग्यो।

एकातिर परम्परागत धारणा र शैली चेलीबेटीलाई जम्मा भएरै आफ्ना पहिरनमा सजिएर, एक किसिमको स्वतन्त्रता, मौलिकता र उल्लासलाई प्रकट गरौं भन्ने भाव नराम्रो पटक्कै होइन। अर्कोतिर, महामारी भाइरस बारे मानिसको बुझाई, अनुभव, सचेतना, सतर्कता र सरसफाइलाई रमाइलोसँग तुलना गर्ने या आफ्नो स्वास्थ्य र जीवनसँग छुट्याउन द्विविधा भयो।

जीवन बहुआयामको सन्तुलन हो। त्यसैले समय परिस्थितिलाई बुझेर स्वयंमा रमाउनु पर्ने कलासँग अभ्यस्त नभइसकेको महसुस गरियो। हरेक परिस्थितिले केहि न केहि सिकाउछ्। तर मनले सधैं जे छैन त्यो देख्छ, जे छ त्यो देख्दैन। आफ्नै मनलाई बुझ्न नसक्नु, मनबाट उब्जेका बिचारको गति र तिनले दिने नतिजालाई अनुभव गर्न नसक्नु नै दुखका कारण हुन्।

परिस्थिति दुःखको कारण हुदैन, मनस्थिति दुःखको कारण बनिदिन्छ। सबै दुःखका कारण, अचेतन, बेहोसी र गुनासा मनको कुन कुनाबाट निस्किँदो रहेछ त्यसलाई हेर्दै जाने कला र मनलाई हेर्ने धैर्यताको विकास जरुरी छ भन्ने पाठ कोरोनाले सिकायो पनि।

कोरोना जस्तो महामारीबाट हामी कुशल छौं भन्नु भन्दा पनि त्यो बिचमा हाम्रो पारिवारिक भेटघाट, रमाइलो छुट्यो भन्ने चिन्ता त व्यर्थ नै हो। ख्याल गरौं हामी मान्दैनौँ या मन मान्दैन? अनि मन कहाँ छ ? मनको पार जाने उपाय छ कि छैन ?

मास्कवाला तीज

मनै त हो नबोलाए चेलीबेटीले गुनासो गर्लान्, वर्ष दिनमा आउने पर्व चेलीबेटी खुवाउन, रमाइलो गराइदिन पाउँदा आफूलाई पनि खुसी मिल्ने।

एकातिर व्यावहारिकताले खुसी, अर्कोतिर आफूले गर्न सकें भन्ने आत्मसन्तोष। यस्तैमा त जीवन चलिरहेछ। गतवर्ष घरमै सिमित तीज यसपटक भने हाम्रै परिवारमा पनि पार्टी प्यालेसमै पनि आयोजना भयो।

कतिञ्जेल नगर्नु, कतिञ्जेल कोरोनासँग डराउनु, कतिञ्जेल परिवारलाई नभेट्नु, अब त अति भो, मास्क लगाउने, ठूलो हलमा भौतिक दूरी कायम गरेर बस्ने। सहमति जुट्यो सबैको तैपनि घरबाट जमघटमै ननिस्केकालाई कता कता त्रास पनि बाँकी नै रह्यो। तैपनि जम्मा भइयो मास्क लगाएर।

संगीत घन्कियो, चेलीबेटीको नृत्य प्रस्फुटन भयो मास्क लगाएरै। पोहोर त केहि गर्न पाइएन है, त्यहि त सबै डराए, कसैले बोलाएनन्। बोलाए पनि कहाँ गैन्थ्यो त, पोहोर त डर नै थियो नि के को दर ?

नबोलाएको गुनासो, आफ्नो किसिमको सचेतना र बुझाई सम्मिश्रण धारणा प्रकट भए एक आपसमा। कति समय पछि भेटियो।  एउटा छुट्टै खुसीमा अंकमाल, दर्शन, भलाकुसारी, सामिप्यता, आत्मियताले जित्यो। मुखको मास्क खोलेर हातमा बोकेर कुराकानी गर्न पनि भ्याए कतिले।

मन कहाँ मान्छ र ? हामीले दुबै डोज खोप लगायौँ, पोजेटिभ भएर उत्रिएकाहरुले आफ्नो आत्मबल प्रस्तुत गर्दै भने जित्यौं हामीले त। पोजेटिभ हुनु झन्डै समाजमा बहिष्कार नै हुनु भन्ने मानसिकता पनि कहाँ हटेको छ र ?

होम आइसोलेसनमा छु, भन्न समेत कतिलाई कष्ट हुन्थ्यो समाजमा अपहेलित भइन्छ कि भन्ने डरले। हाम्रो बुझाइको स्तरमा अडिग रहने या अरुले कसरी बुझ्छन् त्यस अनुसार अरुको विचारमा जीवन बचिदिने ?

भेटघाट, खानपिन कार्यक्रमपछि कतिपयलाई घर पुगेर घाँटी खसखस भयो। जिउ ताते जस्तो भयो। वर्षातको समय नाक रसाएर आयो। अब शंका गर्न थाले त्यहाँ कसैलाई कोरोनाको लक्षण त थिएन ?

नजानु पर्ने रहेछ, मन नलागी नलागी गइयो। मनकै खेल त हो जताबाट जे कुरा गरेपनि यसले आफूलाई कुराबाट बचाउँछ।  आफैंमा स्थित हुन सक्ने र आफ्नो ब्रह्माले जे सही भन्छ, जसरी स्वस्थ, सचेत र अन्तर्मुखी खुसी मिल्छ त्यसमा अडिग हुने अभ्यास बसिसकेको छैन।

सामाजिक र व्यवहारिक कुरालाई पनि खुलेर बुझ्ने र बुझाउने अभ्यासको कमीकै कारण एक आपसमा र सम्बन्धमा मनमुटाव समेत निम्तिएका छन् पर्वकै नाममा पनि।

हरेक पर्व, संस्कृति र परम्पराको कारण मानव जीवनको अस्तित्व छ तथापी परिस्थित अनुसार मनस्थितिलाई परिवर्तन गर्न सक्नु र आफैं भित्र, आफ्नै घरभित्र, वर्तमान परिस्थितिमा जे सहज र अनुकुल छ त्यसमा स्थित हुन सक्नु महत्त्वपूर्ण पक्ष हो।

स्वीकारको कला

झन्डै दुई वर्षको समय विश्वमै मानव जाति र प्राणघातक विषाणु बीचको संघर्षको जीवन चलिरहेको छ भन्दा अनुपयुक्त हुँदैन। यो महामारीलाई जित्न केवल स्वीकारको कला आवश्यक छ।

परिस्थिति प्रतिको स्विकार, स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बाध्यताको स्विकार। आफन्तजन र चेलीबेटीलाई भेट्न नपाएको दुःखद परिस्थितिको स्विकार। बाहिरी भोज भतेर, मिठाई, दर, रमझम आफूले सोचे जस्तो नहुनुको मानसिकतालाई स्विकार। जीवन रहे, स्वस्थ रहे फेरि फेरि पनि आफ्ना पर्व र संस्कारले निरन्तरता पाउने नै छन्।

तीजको किनमेल,पहिरन, उपहार वितरण, मन्दिर दर्शन, पञ्चमीको पूजा भने जस्तो हुँदैन। यस्तो परिस्थितिमा केवल आफ्नै घर भित्र, आफ्नै सिमित परिवारजन भित्र हाँसीखुसी यो प्रतिकूलतालाई पनि अनुकुल बनाउन सक्यौं भने बुद्धिमानी हुनेछ।

श्रद्दा, भाव, आस्था र प्रेम भित्रैबाट प्रस्फुटन हुन्छ भने घरभित्रको तीज र उत्सव कसरी रमाइलो हुन्न र ? बहिर्मुखी अभ्यासले कठिन महसुस हुन्छ।

 एक्लै रमाउन तर अन्तर्मुखी हुने अभ्यास, ध्यान, योग, शारीरिक अभ्यास, सृजानात्मकता तिर मनलाई फर्काउने अभ्यासको कला बढ्दै गयो भने पर्व मात्र होइन हरेक क्षण हर्ष र जीवन नै उत्सव र उपहार अनुभूति हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.