|

काठमाडौं : पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले सरकारले प्रदान गरेको विभूषण नलिने घोषणा गरेका छन्। सरकारले थापालाई ‘सुप्रबल जनसेवाश्री’ र सायमीलाई 'प्रवल जनसेवा श्री' दिने निर्ण गरेको छ। 

थापाले सरकारले आफूलाई सम्झेकोमा धन्यवाद दिँदै आफूले पदक अस्वीकार गरेको सामाजिक सञ्जालमा लेखेका छन्।

‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद‚’ उनले लेखेका छन्‚ ‘विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।’

थापाले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे आफूले समाचार‚ विश्लेषण‚ पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको स्मरण गर्दै राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभए पनि कोही किन पदक पाउँछ वा दिइन्छ भन्ने पारदर्शी हुनुपर्ने बताएका छन्।

यस्तै‚ कार्टुनिष्ट सायमीले पनि सामाजिक सञ्जालबाट नै पदक अस्वीकार गरेको जानकारी दिएका छन्। उनले लेखेका छन्‚ ‘सरकारले मलाई 'प्रवल जनसेवा श्री' बाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.