|

काठमाडौं : संसद् सचिवालयले भोलि (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल तथा जवाफ दिने कार्यसूची सार्वजनिक गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको हो।

बजेटलाई तोडमोड गरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएको एमालेले औपचारिक रुपमा भने बजेटमा संशोधन प्रस्ताव दर्ता नगराएको संसद् सचिवालयले जनाएको छ।

एमालेकै अवरोध र नाराबाजीकाबीच भदौ २९ गते प्रतिनिधि सभाले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेर खर्च कटौती प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिएको थियो। शुक्रबारसम्म दिइएको समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २२ वटै मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको विधेयक शाखाले जनाएको छ। 

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस गर्न माग गर्दै र सभामुख अग्‍नि सापकोटाको कार्यशलैप्रति असन्तुष्टि जनाउँदै भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको छ। सरकारले विनियोजन विधेयकलाई सोमबार प्रतिनिधिसभाबाट पारित गराउने तयारी गरेको छ।

अध्यादेशको अवधि सकिएपछि बेखर्ची भएको सरकारले फास्ट ट्रयाकबाट बजेट पारित गराउने भएको हो। एमालेले भने भोलिको बैठकमा पनि अवरोध गर्ने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.