|

बैतडी : मोबाइल फोनको नेटवर्क र इन्टरनेट नहुँदा बैतडीमा जनगणनामा समस्या भएको छ। जिल्लाका सबै स्थानीय तहमा सुपरीवेक्षक परिचालन गरिए पनि फोनको नेटवर्क र इन्टरनेट सुविधा नहुँदा समस्या भइरहेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए।

गाउँगाउँमा परिचालित सुपरीवेक्षकले गणना गरेको घरसंख्या, जनगणना घर, जनगणना परिवार संख्या आदि दैनिक केन्द्रीय तथ्यांक विभागको डाटामा इन्ट्री गर्नुपर्ने भए पनि इन्टरनेट नहुँदा समस्या भएको पन्तले बताए।

‘सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक डाटा इन्ट्री गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ‚’ उनले भने, ‘उनीहरुले फिल्डबाट सोही दिन इन्ट्री गर्नुपर्ने भएपछि फोनमार्फत टिपाएर कार्यालयबाट दोस्रो, तेस्रो दिन इन्ट्री गर्नु परिरहेको छ। कुनै ठाउँमा फोन समेत नलाग्ने काम प्रभावित भएको छ।’

कुनै कुनै ठाउँमा दिनभरि संकलन गरेको डाटालाई सुपरीवेक्षकले चार पाँच घण्टा हिँडेर फोन नेटवर्क आउने ठाउँबाट टिपाइरहेको उनले बताए। सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्यांक इन्ट्री गर्न समस्या देखिएको हो।

असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनाका लागि जिल्लाभरि ८० जना सुपरीवेक्षक परिचालन गरिएको छ। इन्टरनेट र मोबाइल नेटवर्कका समस्याका कारण तोकिएको समयमा काम सम्पन्न नहुने चिन्ता बढेको कार्यालय प्रमुख पन्तले बताए।

जिल्लामा सबै ठाउँमा विद्युत् बिस्तार नहुँदा यस्तो समस्या आएको हो। यहाँ रहेका नेपाल टेलिकमका कतिपय टावर सौर्य ऊर्जाको भरमा सञ्चालनमा रहेकाले घाम लागेको बेला मात्रै त्यसले काम गर्ने टेलिकम कार्यालयले जनाएको छ।

पहिलो चरणको गणनाअन्तर्गत भदौ ३० गतेदेखि घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको छ। पहिलो चरणमा संकलन गरिएको तथ्यांकको आधारमा मुल गणना गरिने कार्यालयले जनाएको छ। मुल गणना अगामी कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन हुनेछ। २०६८ को जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.