|

म्याग्दी : म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट  संचालन गर्न थालेपछि भेडापालनले पनि व्यवसायिक रुप लिँदै गएको हो।

सिंगापुर र मलेशियाको करिब दुई दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर जन्मभूमिमा फर्किएका धवलागिरि गाउँपालिका ५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगाएतका युवाहरूले विदेशमा कमाएको रु ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायीक रूपमा नै भेडापालन सुरु गरेका हुन्।

गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेको बीच छन्त्याल भने व्‍यावसायिक भेडापालनले कोरोना र लगडाउनको कुनै प्रवाह विना जंगलमा भेडा गोठालोको जीवन बिताइराखेका छन्। भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरु गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन्।

पाँच वर्षदेखि वनजङ्गलमा घुम्ती गोठबाट भेडापालन गरेका छन्। उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको बताउँदै भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै आउने गरेको बताए।

पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी छ। रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरु गरेका छन्। भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा भेडाबाख्राको संख्या २५० नाघेको छ। हरेक वर्ष रु आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुन्छन्।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ। खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ। पछिल्लो समय मान्द्रो बुन्ने पेसा र सीप हराउँदै जान थालेकाले कतिपय गोठमा शहरबाट त्रिपाल खरिद गरी प्रयोग गर्ने गरिएको छ।

मिलन छन्त्यालका अनुसार औषधीको अभावमा हरेक वर्ष गोठमा जन्मिएका भेडाबाख्रामध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेका छन् । अनकन्टार जङ्गलबाट औषधिको खोजी कहाँ गर्नु, यता गोठ छाडेर शहर पुगेर औषधि ल्याउन सक्ने अवस्था नै हुँदैन, गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले हुदैन भन्दै यस्तै समस्याले भेडापालनलाई सताउने गरेको जानकारी दिए।

गोठमै पुग्छन व्यापारी

परम्परागत रुपमा भेडाबाख्रा पालन गर्दै आएका गोठहरूमा हिजोआज व्यापारीहरू खरिदको लागि गोठमै पुग्ने गर्छन्। चाडपर्वको समयमा ठूलो संख्यामा भेडाबाख्रा बिक्री हुने भए पनि अन्य सिजनमा समेत व्यापारीहरू गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको भेडापालन गरेका युवा छन्त्यालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.