|
बाढी आएको लखन्देही खोलाबाट खाद्यान्न लिएर नारायणखोला जाँदै गरेका ट्र्याक्टर। तस्वीर : घनश्याम बलम्पाकी

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–१४ को नारायणखोलामा यातायात सञ्चालन गर्न मर्मत गरिएको बाटो बाढीले एकदिन नबित्दै बगाएको छ।

नारायणखोला क्षेत्रका यातायात व्यवसायीले दशैंका लागि बस चलाउन मंगलबार मात्रै पत्थरकोट छेडा गाउँदेखि नारायणखोलास्थित मोटरदोभानसम्म लखन्देही खोलाको बाटो मर्मत गरेका थिए।

तर, बुधबार आएको बाढीले सबै बाटो फेरि बगाएको बसचालक तीर्थ वाइबाले जानकारी दिए । उनका अनुसार जेसिबी लगाएर सम्याइएको बाटो बाढीले बगाएको हो।

सडक नपुगेको नारायणखोलामा हिउँदमा मात्रै खोलाको बगरबाट यातायात सञ्चालन हुँदै आएको छ। त्यहाँ यस वर्ष गएको बैशाखदेखि बन्द भएको यातायात अझै सुरु हुन सकेको छैन।

लगातारजस्तै पानी पर्दा खोलामा बाढी आइरहेकाले गाडी चलाउन नसकिएको यातायात व्यवसायीले बताएका छन्।

दशैंको मुखमा बाटो मर्मत गरी गाडी चलाएर स्थानीयलाई बजार आउजाउ गर्ने व्यवस्था मिलाउन लागि परे पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ।

गाडी नचल्दा नारायणखोलाका स्थानीय अहिले लालबन्दी बजारमा किनमेल, औषधि उपचारलगायत कामका लागि जान ४ देखि ६ घण्टा पैदल हिँड्न बाध्य छन्।

लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले अस्थायी रूपमा बाटो मर्मतका लागि हरेक वर्ष नगरपालिकाबाट डोजर पठाउँदै आएको बताएका छन्।

उनले अहिले पनि तत्कालै बाढी आएर बाटो बगाउने देखेर डोजर नपठाइएको र अब २/४ दिनमा नगरपालिकाले आफ्नै डोजर पठाउने जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.