|

काठमाडौं : सरकारले गत सोमबारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि यात्रुले सहज यात्रा गर्न भने नपाउने भएका छन्। मनसुनका कारण देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध भएकाले यात्रामा समस्या भएको हो। 

चाडपर्वलाई लक्षित गरी सडक मर्मत गर्दै आए पनि मनसुनका कारण समाधान गर्न नसकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए। देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध थिए।

हाल सडक खुलाउने काम भइरहेको छ। कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय सडक खुलाउने  काम भइरहेको थापाले बताए। 

दशैँमा मात्र १५ लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गर्दछन्। उपत्यका भित्रने र बाहिरिने यात्रुको सहजीकरणका लागि सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको महानिर्देशक थापाले बताए। उनले भने, ‘मनसुनका कारण सबै सडकको समस्या समाधान भने गर्न सकिएन।’

वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकमा अझै पनि आवतजावत गर्न मुस्किल छ। त्यसैगरी एकतर्फी सञ्चालमा रहेका राजमार्गमा सवारीसाधनको चाप बढ्नुका साथै जाम हुन्छ।

पूर्णरूपमा अवरुद्ध सडक दशैँअघि खुलाउने तयारीका साथ काम भएको र एकतर्फी भए पनि सञ्चालन ल्याउने विभागका महानिर्देशक थापाले जानकारी दिए। देशभरका एक दर्जनभन्दा बढी सडकमा समस्या थियो।

हाल मनाङ जिल्लाको डुम्रे–बेँशीसहर–चामे राजमार्गको तिमाङ छहरा खण्डमा समस्या भएको छ। अन्य सडक खुलाउने काम भइरहेको थापाले बताए।  

तत्काल सडक मर्मत गर्नुपर्छः व्यवसायी

यातायात व्यवसायीले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेका छन्। विशेषगरी बाढीपहिरोले भत्किएको ग्रामीण सडक तत्काल मर्मत गरी दशैँमा उपत्यका बाहिरिनेको यात्रा सहज बनाउन सुझाव दिएको नेपाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

‘वर्षाका कारण ग्रामीण सडक जीर्ण छ‚ कतिपय राजमार्गमा एकतर्फी सञ्चालनमा छन्‚ कति अवरुद्ध छन् कसरी यात्रा गर्ने?’‚ उनले भने, ‘अहिले भइरहेको सडकमा दशैँका लागि यात्रु बोकेर सवारीसाधनलाई आवतजावत गर्न समस्या छ।’ 

नागढुंगादेखि नौबिसेसम्मको सडक खण्डको सुरुङ मार्ग निर्माणस्थल नजिकैको पहिरोका कारण दैनिक सडक अवरुद्ध भइरहेको छ।
त्यस्तै पृथ्वीनारायण राजमार्गका मुग्लिन, नारायणगढ लगायतका सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको बताउँदै सिटौला भन्छन्, ‘सडकलाई दुईतर्फी सञ्चालन गर्न व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.