|

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्। 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन्। 

ना ३२ प ६६ ७३ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे कौशलटार नजिकै आफै अनियन्त्रित भई रेलिङमा ठोक्किदा चालक पर्सा हरिनाथगञ्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको ईन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका पर्सा वीरगञ्जका सियाराम सिंहको उपचार भइरहेको छ। 

यस्तै धनगढीको धनगढी उपमहानगरपालिका ४ बोराडाडीमा बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका पैदलयात्री दार्चुला खण्डेश्वरी गाँउपालिका ४ का ४५ वर्षीय गणेश सुनारको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। 

गएराति ना ८ ख २२४२ नम्बरको बसले पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो। बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

यस्तै नवलपरासीको बर्दघाट सूस्ता पश्चिम रामग्राम नगरपालिका–३ घोडेपानीमा  मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। घाइते पुरुषको परिचय खुलेको छैन। उनको जिल्ला अस्पताल परासीमा उपचार भैरहेको छ। 

नवलपरासीकै देवचुली नगरपालिका १४ मा पनि गएराति स्कुटर अनियन्त्रित भई पल्टिदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। प्रदेश २ –००४ प ३४ ४७ नम्बरको स्कुटर चालक स्थानीय ३४ वर्षीय रामजी भण्डारी गम्भीर घाइते भएका हुन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

यस्तै धनुषाको मिथिला नगरपालिका ६ भक्तिपुरमा गएराति कार दुर्घटना हुदा चालक गम्भीर घाइते भएका छन्। धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ वर्षीय राजु साह घाइते भएका हुन्।

हातखुट्टा र टाउकोमा गम्भीर चोट लागेका साहको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको छ। गएराति ढल्केबरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बा १२ च २८७० नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.