|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक चिकित्सालयको नामले चर्चित तातोपानी कुण्डको पानी प्रयोग गरेर पानीबाट उपचार गर्ने अस्पताल निर्माण गरिने भएको छ।

तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा प्राकृतिकरुपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपंचर,  योगाथेरापी, फिजियोथेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।

शाक्यका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र  कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी एक करोड रुपैयाँको लगानीमा अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ। साथै‚ गत आर्थिक वर्ष गण्डकी प्रदेशले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरिद गरिएको छ। कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एकजना प्राकृतिक चिकित्सक भर्ना गरिएको छ।

चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी र योगाथेरापीका लागि तालिम प्राप्त जनशक्तिको आवश्यक पर्ने भएकाले अहिले तालिम सञ्चालन भैरहेको र दशैंपछि अस्पताल सञ्चालन गरी उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले बताइन्। अस्पतालमा तत्कालका  लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ जनाभन्दा बढी  स्वास्थ्यकर्मीको आवश्यक पर्ने अधिकारीको भनाइ छ।

व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँचवटा बेड तयार गरिएको छ। परम्परागत रुपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई प्रविधिको प्रयोग गरी आधुनिक सेवा प्रदान गर्नका लागि प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइरहेको छ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, ग्यास्ट्रिक, बाथ, ढाड दुख्ने, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वासका साथ यहाँ बर्सेनि हजारौं बिरामी उपचार लिनका लागि आउने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.