|

हेटौंडा : केही दिनमा नै अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने निश्चित भएपनि विपक्षी गठबन्धनले हालसम्म मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।

असोज २५ गतेभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यतामा रहेको अष्टलक्ष्मी नेतृत्वको सरकार ढल्ने पक्कापक्की छ।

तर, वर्तमान सरकार विस्थापन गरेर नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले हालसम्म पनि मुख्यमन्त्रीको टुंगो लगाउन नसक्दा गठबन्धन सरकार गठनका लागि अघि सर्न सकेको छैन।

मुख्यमन्त्री शाक्यले असोज २४ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने बुझिएको छ।

संसदीय अंकगणित हेर्दा उनले विश्वासको मत नपाउने र सरकारबाट बाहिरिने निश्चित छ। अष्टलक्ष्मी नेतृत्वको सरकार केही दिनमा नै विस्थापन हुने निश्चित भएपनि मुख्यमन्त्रीका आकांक्षी दुई जना हुँदा विपक्षी गठबन्धनले प्रदेश सरकारको नेतृत्व कसले गर्ने टुंग्याउन सकेको छैन।

केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको बागमती प्रदेशमा ४ वटा घटक छन्। प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा छन्।

मुख्यमन्त्रीमा दुई जनाको दाबी

माओवादीले यसअघि अन्य प्रदेशमा पनि नेतृत्व गरिरहेको हुँदा बागमतीमा दाबी गरेको छैन भने जसपामा एक जना मात्र सांसद छन्।

त्यसैले बागमती प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनबाट कांग्रेसबाट ईन्द्रबहादुर बानियाँ र समाजवादीबाट राजेन्द्र पाण्डेले दाबी गर्दै आएका छन्।

बानियाँ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासिलो पात्र हुन् भने पाण्डे पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निकटतम् हुन्।

दुई जना नै मुख्यमन्त्रीबाट पछि नहट्दा गठबन्धनमा मुख्यमन्त्रीको नाम टुंग्याउनै सकस भएको गठबन्धनको एक सांसदले बताए। उनका अनुसार पाण्डे र बानियाँ दुवै जसरी पनि प्रदेश सरकारको नेतृत्व गर्ने दाउमा छन्।

मकवानपुर गृहजिल्ला भएका बानियाँ लामो समयदेखि मुख्यमन्त्रीको लबिङ गर्दै काठमाडौंमै छन् भने पाण्डेले आफू मुख्यमन्त्री बन्ने सहमति भइसकेको दाबी गर्दै आएका छन्।

आफ्नो नाममा सहमति भइसकेको पाण्डेको दाबी

पाण्डेले प्रदेश १ र बागमतीमा समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति भइसकेको भन्दै बागमती प्रदेशमा आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन्। समाजवादीको बागमती प्रदेशको संसदीय दलको उपनेता कृष्ण खनालले पनि प्रदेश सरकारको नेतृत्व पाण्डेले गर्ने सहमति शीर्ष नेताबीच भइसकेको दाबी गरे।

थाहाखबरसँग कुरा गर्दै खनालले भने, ‘प्रदेश सरकारको नेतृत्वको विषयमा हाम्रो केही समस्या छैन। समाजवादीको तर्फबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ। उहाँ नै मुख्यमन्त्री बन्नुहुन्छ।’

उनले २४ गते अष्टलक्ष्मीले संसद्‍मा विश्वासको मत नपाएपछि गठबन्धनबाट बहुमत पुर्‍याएर आफूहरू प्रदेश प्रमुखकोमा जाने र नयाँ सरकार गठन गर्ने उनको भनाई छ।

खनालले बागमती सरकारको नेतृत्व समाजवादीले गर्ने सहमति भइसकेको बताए पनि कांग्रेस र माओवादीले भने अहिलेसम्म प्रदेश सरकारको नेतृत्व कसले गर्ने विषय नटुंगिएको बताएका छन्।

कांग्रेसको पनि दाबी

कांग्रेसको संसदीय दलको नेता बानियाँले बागमतीमा गठबन्धनबाट को मुख्यमन्त्री बन्ने विषयमा सहमति भइनसकेको बताए। उनले गठबन्धनमा भागबण्डा हेर्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपचाररत रहेकोले मुख्यमन्त्रीको विषय टुंगिन ढिलाई भएको बताए।

बानियाँले भने, ‘गठबन्धनमा रहेको दलहरूले मुख्यमन्त्रीमा दाबी गर्न पाउनुहुन्छ । तर हालसम्म उहाँहरूले गर्नु भएको दाबीमा सहमति भने भइसकेको छैन, अबको केही दिनमा नै मुख्यमन्त्रीको विषय टुंगिनेछ।’

उनले आफूले व्यक्तिगत रुपमा नभएर पार्टीगत रुपमा सरकारको नेतृत्वमा दाबी गरेको भन्दै गठबन्धनको शीर्ष नेताहरूको निर्णयअनुसार अगाडि बढ्ने बताए। बानियाँले अढाई महिना आफूले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केही समयअघि आएको समाचारमा सत्यता नभएको पनि बताएका छन्।

अब बल्ल छलफल सुरु भयो : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले हालसम्म बागमतीमा गठबन्धनबाट मुख्यमन्त्रीको टुंगो नलागेको बताए।

थाहाखबरसँग कुरा गर्दै उनले आज बिहीबारबाट मात्रै केन्द्रमा शीर्ष नेताहरुबीच मुख्यमन्त्रीको विषयमा छलफल सुरु भएको भन्दै चाँडै नै यसको किनारा लाग्ने बताए।

‘गठबन्धनबाट दुई जनाले दाबी गरिरहनु भएकोले मुख्यमन्त्री को बन्ने भनेर टुंगिन ढिलाई भएको हो। तर, यो विषयमा हामीले नभएर केन्द्रमा शीर्ष नेताहरूले टुंग्याउनुहुन्छ। एक दुई दिनमा गठबन्धनबाट मुख्यमन्त्रीको टुंगो लाग्छ,’ उनले भने।

प्रदेशमा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.