|

काठमाडौं : २०६०/६१ सालतिर गायक नेत्र भण्डारी दोहोरी साँझमा मादलवादकको रूपमा काम गर्थे। दोहोरी साँझमा गीत गाउनेहरू देख्दा उनी सोच्थे, ‘यति त मैले पनि गाउन सक्छु त।’

उनमा गाउने रहर थियो‚ लगाव पनि थियो। तर मसिनो स्वर। यस्तै‚ अन्तर्मुखी स्वभाव भएका उनी आफ्ना रहर कसैलाई भन्न पनि सकिहाल्दैन थिए। यसरी उनी आफ्नो गायनलाई आफैंभित्र गुम्साइरहन्थे।

त्यसबेला पशुपति शर्मा, रमेशराज भट्टराई, रामजी खाँण, कुलेन्द्र विश्वकर्मासँग उनको चिनजान बढ्यो। एक दिन बेलुका दोहोरी साँझको काम सकेर स्टाफसहित उनी डेरा फर्कंदै थिए। गाडीको झ्यालबाहिर मुण्टो हल्लाउँदै उनी गीत गुनगुनाइरहेका थिए। गायक पशुपति शर्मा र रमेशराज भट्टराईले उनको स्वर सुनिरहेका थिए। नेत्रको स्वर सुनेपछि उनीहरूले सुझाव दिए‚ ‘नेत्र भाइ‚ तिम्रो आवाज मिठो रैछ। गायनलाई पनि अगाडि बढाउँदै लगे सुनमा सुगन्ध हुन्थ्यो।’

उनीहरूको सुझाव भण्डारीले मनन गरे। त्यसपछि उनले मादलको साथसाथै स्वरको परिक्षण गर्न थाले। २०६२ सालमा उनले एक गीत निकाले। क्यासेटको जमानामा थियो। सुरताल म्युजिकबाट 'सल्लाघारी वन'को ‘बी’ साइडमा उनले स्वर भरे। पहिलो पटक आफ्नै लयमा उनले निकालेका गीत यस्तो थियो‚

‘हुन्थ्यो भेट मुग्लिन बजारमा
लाको माया छुटेर गए नि
झलझली आउँछ्यौं नजरमा’

यस गीत आएपछि उनले नेपाली सांगीतिक क्षेत्रमा प्रवेश पाए। त्यसपछि उनी निरन्तर गायकका रुपमा सक्रिय छन्। दुई दशकको अवधिमा उनले करिब ६०० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्।

बुबा भने- हाम्रो इज्जत फाल्यो

२०५९ सालमा सल्यानबाट काठमाडौं पढ्न आएका थिए उनी। काठमाडौं शहरमा छोरोले पढाइ सकेर फर्कियोस् भनट्ठ बुबा आमाले सोचेका थिए।

त्यसबेला उनका 'रूममेट' थिए अनिल खड्का। बच्चैदेखिका साथी अनिलले नेत्रको स्वर सुनेका थिए। एक दिन कोठामा बसिरहेका बेला अनिलले भने, 'स्वर राम्रो छ। गीत संगीतमा पो लाग्ने हो कि?' 

बचपनमा एकपटक मात्र विद्यालयमा गाएका नेत्रलाई उक्त सुझाव मननयोग्य लाग्यो।  बच्चामा उनको आवाज पातलो थियो। उनी अलि लजालु स्वभावका पनि थिए। त्यसैले उनले गायनभन्दा वाद्यवादनतिर ध्यान दिए। उनले खड्क बुढासँग मादल सिक्न थाले। 

उनलाई त्यसबेला नरेश डिसीले दोहोरी साँझमा लिएर गए। विस्तारै लोक दोहोरीको माहोल बुझ्दै गए। यता गीत संगीतको माहोल बुझ्दै थिए। उता बुबाआमालाई उनको यो कदम मन परेको थिएन।

तर‚ बुबाआमाको इच्छाविपरीत उनी भने दोहोरी साँझमा मादलवादकको रुपमा काम गर्न थाले। बुबाको कुडिएको मनले निष्कर्ष निकाल्यो, ‘दोहोरी साँझमा लागेर छोरोले हाम्रो इज्जत फाल्यो। हाम्रो छोरो अब हाम्रो भएन।’

‘गाउँमा मिडिया थिएन। त्यसैले लोक संगीतमा लाग्ने व्यक्तिले पाएको मान सम्मानबारे बुबाआमा अनभिज्ञ हुनुहुन्थ्यो कि,’ नेत्रको अड्कल छ।

उनी दुई वर्ष गाउँ गएनन्। घरमा आवतजावत बन्द भयो। आर्थिक मन्दी सुरु भयो। देश द्वन्द्वमा थियो। त्यसबेला साथी सर्कलहरू गाउँ छोडेर परदेशी हुँदै थिए। उनै साथीहरू गाउँबाट बुबाआमाको खबर लिएर आउँथे। तर, खबर सुखद् हुन्थेन। किनभने कुडिएको मनमा मल्हम लगाउन बाँकी थियो। बुबाआमाको आफूसँग गरेको चित्त दुखाइले उनी निरास बन्थे। 

दोहोरी साँझमा काम गर्दै जाँदा बोल्ने ‘कन्फिडेन्स’ पनि बढ्यो। हिम्मत बटुले। उनलाई बुबाआमालाई कन्भिन्स गर्न सक्छु भन्ने लागिरह्यो। दुई वर्षपछि घर गए। बुबाआमालाई संगीतको यात्रामा आफ्नो काम सुनाए। त्यसपछि उनले केही गीतहरूमा स्वर भरे। सल्यानका पाखापखेरामा गीत घन्किए। गीत गाउनका लागि विदेश पुगे। त्यसपछि भने बुबाआमा कन्भिन्स भए।

लोकगीत छोडेर भजनतिर

दोहोरी साँझको रमझमले उनको मन भरिसकेको थियो। गीत संगीतमा केही फरक गर्ने रहर उनमा जाग्यो। बीचमा उनले दोहोरी क्षेत्रलाई त्यागे। अनि भजनगीततिर लागे।

उनी सात वर्षसम्म दिनबन्धु पोखरेलसँग भजन गायकको रुपमा देशका विभिन्न क्षेत्रमा आयोजना गरिएका महायज्ञमा हिँडे।

त्यसपछि उनी पुनः दोहोरी गायनमै फर्किए। ध्रुपराज धितालको संगीत र रमेश बिजीको शब्दमा ‘स्याउ ल्याइदिउ कि केरा’ भन्ने गीतमा २०६९ मा स्वर भरे। उक्त गीतले उनलाई परिचय दिलाउन सफल भयो। यो गीतलाई नै उनले आफ्नो गायनको टर्निङ प्वोइन्ट मान्छन्।

मौलिकता कम व्यवसायिमता बढी

जति बेला उनी संगीतसँग निकटता बढाउँदै थिए, त्यसबेला नेपालको परिवेशलाई समेटेको, मौलिकता बोकेका गीत बढी हुने गर्थे। औंलामा गन्न सकिने गायक गायिकाहरू थिए। पछि गीत विस्तारित हुँदै गयो। कलाकारहरू पनि थपिए। त्यसपछि मौलिकता कम व्यवसायिकता बढी हुन थाल्यो।

‘मौलिकताले मान्छेलाई सन्तुष्टि दियो। व्यावसायिक गीतले सर्जकको आर्थिक हैसियतलाई केही मजबुत बनाइदियो,’ उनी सुनाउँछन्, ‘सधैं गीत एकै प्रकारको हुने कुरा पनि होइन। गीत परिमार्जित हुनु जरुरी छ। यो नेपाली बजारमा मात्र होइन विश्व संगीतको बजारमा पनि यही भएको छ। अहिले हाम्रामा पनि मौलिकताभन्दा व्यावसायिक गीत अंगालेको देखिन्छ।'

दर्शकले मेरा गीत सुन्दा छि: नभनून्

हालसालै उनले ‘माया माकुरीको’ बोलको गीत ल्याएका छन्। कोरोनाले थिलोथिलो बनाएको अवस्थामा पनि उनले गीत निकाल्ने जोखिम उठाएका छन्। गीत जति नै चर्चामा आए पनि लगानी उठ्न सक्ने अवस्था छैन। आखिर किन गीत निकाल्न उनी तयार भए त?

‘अहिले लगानी उठ्न गाह्रो छ‚’ उनले सुनाए‚ ‘दर्शकसँग निकटता कायम राख्न गीत सिर्जना गरिरहनुपर्ने अवस्था छ।’

संगीतको क्षेत्रमा कति अप्ठ्यारा छन् भन्ने कुरा आम मानिसले थाहा पाइसकेको अवस्था छ। यसको अनुभव नेत्रसँग पनि छ। यद्यपि‚ उनको संघर्ष भने जारी छ।

‘मैले पनि सांगीतिक जीवनका दुःखसुखका पलहरू अनुभव गरेको छु। तर, मनले रुचाएको पेशा अँगाल्न सकेको छु भन्ने लाग्छ। अहिले जीवन जिउने बाटो नै यही बनेको छ,’ उनी भन्छन्, अग्रजका गीत सुन्दै हुर्किएको हुँ। गीतसँगको निकटता कायम छ। सफलता के हो वा के होइन भन्दा पनि आउने पुस्ताले मेरा पुस्ताले मेरा गीत छिः नभनून् भन्ने नै हो।’

लोक संगीतमा लागेर के कमाइस् भन्नेहरू पनि प्रशस्त भेटेका छन् उनले। उनी सुनाउँछन्, ‘मैले दर्शक कमाएको छु। तर, कहिले काहीँ साना आवश्यकता पनि पुरा हुन नसक्दा गायन मात्र होइन आर्थिक पाटो पनि बलियो हुनुपर्ने रहेछ भन्ने लाग्छ। कहिले अभाव कहिले खुशी नभए त जिन्दगी जिउनुको मज्जा पनि त आउँदैन भन्ने सोच्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.