|

हेटौंडा : दोलखाको चरिकोटमा पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ।

प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक १३ गते आयोजना हुने भएको हो।

दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध तथा रमणीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइयो।

प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले विश्वमा कतै पनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

उनले दोलखामा हुने ‘हाई अल्टिच्युड’ राष्ट्रिय रेस्लिङको आयोजनाबाट यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा व्यक्त गरे। प्रतियोगिता गरेर अर्को वर्ष अन्तरराष्ट्रिय स्तरको ‘हाई अल्टिच्युड’ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारको रहेको सदस्य सचिव भण्डारीको भनाइ छ। 

राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताईएको छ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रूपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडलवेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकारले प्रतियोगिता आयोजनाका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनेछ।

अन्य नीजि क्षेत्र, जिल्लाका स्थानीय तह सहितका निकायको सहयोगबाट बाँकी रकम जुटाउने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.