|
पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै प्रहरी। तस्वीर : अजय साह

जनकपुरधाम : महोत्तरीमा बोक्सी (डायन)को आरोपमा एक महिलालाई मलमुत्र खुवाएर कुटपिट गरी अभद्र ब्यबहार गरिएको घटना सार्वजनिक भएको छ।

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई कपाल मुन्डन गरी अमानवीय व्यवहार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बोक्सी आरोपमा कुटपिट गरी मलमुत्र खुवाएर कपाल काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३५ वर्षीय सिकिन्दर महतो, उनकी पत्नी ३२ वर्षीया पुरनीदेवी महत्तो, आमा ६५ वर्षीया प्रमिलादेवी महत्तो र भाइ २० वर्षीय अनिल महतो छन्।

प्रहरीले घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको काटिएको कपाल, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतलसमेत बरामद गरेको जनाएको छ।

गएको असोज २७ गते बिहान ३ बजे मर्निङ वाकमा सडक मै घुमफिर गरिरहेकी सुकमरियालाई सिकिन्दरको परिवारले बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपालसमेत काटेर अपमानजनक व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दरकी छोरी १३ वर्षीया काजलकुमारी रुन थालेकी थिइन्।

सोहि बेला सिकिन्दरको परिवारले सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.