|

पर्वत : मोफसलमा पनि नाटक मञ्चनको क्रम बढ्दै गएका बेला पोखरामा ‘चरणदास चोर’ मञ्चन हुने भएको छ।

कोरोना संक्रमण जोखिमका कारण दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई चलायमान बनाउन रेनसान्स थिएटर नाट्य सिर्जना समूहले मंसिर १ देखि १४ सम्म नाटक मञ्चन गर्ने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिए।

‘पोखरामा रहेर रंगकर्म गरिरहेका रंकर्मीहरूमा पनि कोरोनाले शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर गर्‍यो। महामारीको अवस्था केही सहज बन्दै जाँदा रंगकर्मलाई कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएपछि नाट्य सिर्जना समूह स्थापना भयो,’ उनले भने, ‘दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई रंगकर्ममार्फत पुनः चलायमान बनाउन यो नाटक मञ्चन गर्न लागेका हौँ।’

नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। उक्त नाटकलाई हास्यचेत तथा संवेदनाले भरिपूर्ण मानिन्छ। भारतीय लेखकले लेखेको भए पनि उक्त नाटकमा नेपाली समाजमा चल्तीमा रहेका चरित्र तथा व्यवहारहरूको उठान रहेका कारण ‘चरणदास चोर’ नै आफूहरूको रोजाइमा परेको निर्देशक विमलको भनाइ छ।

पोखरा थिएटर गैह्रापाटनमा मञ्चन गर्न लागिएको नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एम.डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.