|

म्याग्दी : म्याग्दीको विपद्को सारथी म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थापनाकालदेखि नै घोषणा गर्दै आएको उत्पादनमुलक क्षेत्रमा लगानी भित्र्याउने घोषणा अधुरै छ।

मोनामा नै आवद्ध भएका व्यक्तिहरूको लगानीमा अघि बढाइएका जलविद्युत आयोजनाहरू थलिएका छन्। प्रवासी म्याग्देलीहरूको लगानीमा अघि बढाइएका मालिका गाउँपालिका–६ मा निर्माणधिन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला र रघुगंगा गाउँपालिका–७ चिमखोलामा निर्माण गरिने भनिएको ५ मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत आयोजनाले गति लिन सकेका छैनन्।

हरेक अधिवेशनमा प्रवासी पूँजी, सिप र ज्ञानलाई जिल्लाको उत्पादनमुलक क्षेत्रमा लगानीको रुपमा भित्र्याउने घोषणा हुँदै आएको छ। महाधिवेशनमा विमोचन गरिएको ‘मोना स्मारिका’मा मोनाका संस्थापक महासचिव शिवकुमार बरुवालले स्थापनाकालमा लिएका लक्ष्य र उद्देश्यहरूको समीक्षा गर्दै घोषित उद्देश्यहरूको कार्यान्वयनमा जुट्नुपर्नेमा जोड दिएका छन्।

‘मोनाले परोपकारी क्षेत्रमा यथेष्ट रचनात्मक कार्य गर्न सफल भएको छ, तर यसैमा मात्रै अल्झिएर बस्न हुँदैन’ बरुवालले भने, ‘सुरुवातदेखि नै घोषणा गरेको उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानीको घोषणालाई मोनाको नयाँ अध्यायको रुपमा अघि बढाउन माग छ।’

म्याग्दी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको अधिकतम् उपयोग गर्ने गरी पूँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनु पर्ने बरुवालको धारणा छ।

मोनाले सन् २०१६ मा तत्कालिन जिल्ला विकास समितिसँगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकाँक्षी योजना घोषणामै सिमित छ। तत्कालिन समयमा विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीहरू मार्फत संकलन गरिएको लाखौँ रकमसमेत उपयोगविहिन बनेको प्रवासी म्याग्देलीहरूले नै गुनासो गर्दै आएका छन्।

त्यसैगरी सन् २०१७ मा दरबाङमा सम्पन्न भएको मोनाको दोस्रो महाधिवेशनमा महिलाहरूको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजना सहित एक करोडको अक्षयकोष बनाउने घोषणा गरिएको र लाखौँ बोल रकम संकलन भएको घोषणा गरिएको भएपनि उक्त अक्षयकोष अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन्।

‘हालसम्म ९० लाख बोलकबोल भएको छ, तर त्यसको आधा रकम पनि जम्मा हुन सकेको छैन, कोषलाई कसरी परिचालन गर्ने अझै अन्यौल छ,’मोनाका वर्तमान कार्यसमितिका एक पदाधिकारीले भने।

परोपकारी र मानवीय सेवासँगै अब प्रवासमा आर्जित ज्ञान, सिप र पूँजीलाई जिल्लामा भित्र्याउने, उत्पादनमुलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने मोनाको प्राथमिकता हो।

प्रवासी जिल्लाबासीबाट सामुहिक लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीलाई अघि बढाउने तयारी रहेको निर्वाचित अध्यक्ष अमर छन्त्यालले बताए। उनले म्याग्दीमा उत्पादन हुने सिमी, चामल, टिमुर, च्याउ, गुन्द्रुक लगायतका कृषि उपजहरुलाई ब्राण्डिङ गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने समेत बताए।

एक दशक पार गर्दा मोनाले म्याग्दीमा प्रकोप पीडितलाई राहत तथा सहयोग, आर्थिक अभावको सामना गरिरहेका गरिब विपन्न परिवारका विरामीहरूको उपचारमा आर्थिक सहयोग जुटाउने कार्यमा प्रशंसा बटुलेको छ।

प्रवासमै समस्यामा परेका जिल्लाबासीको उद्धार, तथा रोजगारको बन्दोबस्त मिलाउने कामसमेत मोनाले गरेको छ। एक दशकको अवधिमा मोनामार्फत विश्वका विभिन्न २८ वटा मुलुकमा रहेका म्याग्देलीहरूलाई गोलबद्ध गर्न सफल भएको मोना अन्तराष्ट्रियका निर्वतमान अध्यक्ष ओमनारायण जुग्जालीले जानकारी दिए।

प्रवासमा रहेका म्याग्देलीहरूको साझा चौतारीको रुपमा रहेको मोना सन् २००७ मा स्थापना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.