|

काठमाडौं : चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ। आइतबार एक कार्यक्रम आयोजना गरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो।

यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामान किनबेच गर्न सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। उनले यसबाट पारदर्शिता हुने भएकाले ऋण लिन चाहने व्यापारीलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पारे।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले तरकारी तथा फलफूल बजारमा विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्था अन्त्य भएको बताए। उनले विद्युतीय कारोबारले किनबेच गर्न सजिलो बनाएको चर्चा गरे।

यसैबीच तरकारी किन्न बजार पुगेका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने कारोबारले आफूहरूलाई धेरै सजिलो बनाइदिएको बताए। त्यसैगरी अर्की ग्राहक सुवानी घिमिरेले विद्युतीय भुक्तानीबाट तरकारी किन्न पाउने व्यवस्थाले आफूहरूलाई सहज भएको बताइन्।

सनराइज बैंकले हालसम्म १० हजारभन्दा बढी व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोड व्यवस्था गरिसकेको छ। नगद कारोबारलाई सहज बनाउन आफूहरूले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.