ओलीले पूर्वराजा शाहसँग गणतन्त्र उल्ट्याउने बताएको सुने

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन्। सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘तपाईंहरुलाई केपी ओलीसँग मिल्यो भन्ने लागेको होला। हाम्रो सपना गलत थिएन, सही थियो। देशभरका जनताले मूल्याङ्कन पनि गरेका हुन् तर ओली अवसरवादी भए,’ उनले भने, ‘माइतीघरमा बस्दा ओली समूहले बिचरा भनेका थिए। पछि विशाल हुरीमा परिणत भयो। सेटिङ भत्कियो। विभाजन भएको होइन। गराइएको हो।’

उनले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए।

‘ओलीको २५ प्रतिशतमात्रै थियो। ७५ प्रतिशत हामीसँगै थियो। ओली नसुध्रिएपछि पार्टीबाट निकालिएको हो। दुई तिहाइभन्दा बढी निकालिएको हो। पूर्व माओवादीमात्र भएर दुई तिहाइ भएको होइन। संसदबाट हटाइयो,’ उनले भने, ‘ओलीलाई निकालेपछि म प्रधानमन्त्री हुने पक्का भएको थियो। दलको नेता मलाई चयन गरेको थियो। म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी आ–आफ्नै बाटो बनाइदियो।’

यस्तै प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताए। प्रचण्डले ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको सुनेको जिकिर गरे। 

प्रचण्डले भने, ‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो’ भनेर भनेको सुने। स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस्।’

अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए। प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए। उनले भने,  ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ। तर, हाम्रो विचार, नीति सही थियो नि। त्यत्रो जनताले विश्वास गरेर भारी बहुमत थिए। तर, यो प्रतिक्रियावादी प्रतिक्रान्तिकारी जाली फटाहालाई सैह्य भएन। डे वान देखि षडयन्त्र गरे।’

पार्टीभित्र नै वैचारिक हिसाबले विकृत गराएर फुट गराएर नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर कम्युनिस्ट पार्टीभित्र फुट गराउने काम विश्वभर नै हुँदै आएको र कम्युनिस्ट पार्टीभित्र नेता पतित भएपछि हुने गरेको भन्दै संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भटेको बताउँदै प्रचण्डले भने, ‘मलजल र सिंगरपटार गरे। ढाडस दिएर उचाले। अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए। यसले मात्रै माओवादीलाई ठिक गर्न सक्ने भन्ठानेर मलजल गरे। हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो। हामीले गल्ती गरेको होइन। प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए। 

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ६ वटै प्रदेशमा ओली प्रवृत्ति परास्त भएको र अबको केही दिनमा प्रदेश १ मा पनि गठबन्धनको सरकार बन्ने टिप्पणी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.