|

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।

जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर, जनमत पार्टी मुर्दावाद !’ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका विद्यार्थीले सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई शुक्रवार दुर्व्यवहार गरेका थिए।

विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठनपाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो दल्नुका साथै चप्पलले समेत हिर्काएका थिए। घटना पश्चात नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन शुरु गरेको हो।

प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइएको छ। प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने शिक्षकहरूले चेतावनी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.