सरकार भन्छ-  जानकारी छैन

|

काठमाडौं : करिब तीन वर्षदेखि मलेसिया रोजगारी अनिश्चित जस्तै बनेको मलेसिया रोजगारी खुल्ने भएको छ। तीन वर्षदेखि ठप्प रहेको मलेसियाको श्रमबजार आगामी डिसेम्बरदेखि सुचारु हुने मलेसिया सरकारले जनाएको छ।

केही दिनअघि काठमाडौँस्थित मलेसियाले दूतावासले कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आगामी डिसेम्बरबाट कामदार लैजाने प्रक्रिया अगाडि बढाइने बताएको छ। मलेसिया रोजगारीमा २०७५ मा सिन्डिकेट विवाद भएकासँगै म्यानपावर कम्पनीले नेपाली कामदार पठाउन सकेको थिएन। तीन वर्षयता असहज बन्दै गएको मलेसिया रोजगारी विश्वभर फैलिएको कोरोनाका कारण अझ संकटमा परेको थियो। 

मलेसिया रोजगारीमा जानेका लागि बायोमेट्रिक, स्वास्थ्य परीक्षण लगायतमा ठगी भएको भन्दै तीन वर्षअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बन्द गरेका थिए। 

विश्वका विभिन्न मुलुकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अन्य मुलुकको आगमनलाई ठप्प पारेका  थिए। कोरोना संक्रमणदर न्यून भएसँगै अन्य मुलुकले आगमन सहज बनाइसकेका छन्। यसरी तीन वर्षदेखि ठप्प रहेको मलेसियाको श्रमबजार आगामी डिसेम्बरबाट सुचारु हुने मलेसिया सरकारले जनाएको छ। 

क्वारेन्टाइन, खोप अनिवार्य

मलेसिया सरकारले मलेसिया प्रवेश गर्नेलाई कोरोनाविरुद्धको खोप र सात दिनको क्वारेन्टाइन अनिवार्य गरेको छ। दूतावासको विज्ञप्तिअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्वास्थ्य मापदण्डअनुसार मलेसियाले तोकेको कोभिड खोप लगाएपछि प्रवेश अनुमति दिने उल्लेख गरेको छ। रोजगारीका लागि जाने विदेशी कामदारले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट र त्यहाँ पुगेपछि तोकिएको स्वास्थ्य मापदण्डअनुसार एक साता क्वारेन्टाइनमा बस्नुपर्नेछ। मलेसियाले फाइजर, मोडर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन र चिनियाँ भेरोसेल खोपलाई मान्यता दिएको छ। 

सरकार भन्छ-  जानकारी छैन 

काठमाडौंस्थित मलेसियाली दूतावासले विज्ञप्ति जारी गर्दै कोरोनाका  कारण रोकिएको  वैदेशिक रोजगारी खुला गर्न लागेको जनाएको छ। यता  वैदेशिक रोजगार विभागले भने आफूलाई कुनै पनि जानकारी नभएको बताउँदै आएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताए। उनले भने, ‘मलेसियाले रोजगारीको बाटो खोल्यो भन्दै मिडियामा आएका छन् तर हामीलाई आधिकारिक जानकारी छैन।’ 

गुम्यो ५ लाख रोजगारी 

सिन्डिकेट विवाद र कोरोनाका कारण लामो समयदेखि ठप्प रहेको मलेसिया रोजगारीमा कामदार पठाउन सरकारले पहल नगर्दा ५ लाख जनशक्तिको माग गुमाउनु परेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्। मलेसिया नेपाली कामदारको रोजगार गन्तव्य देशभित्र हो। मलेसियाले रोजगारीका लागि खुला गरेसँगै सकारात्मक संकेत देखिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.