|

काठमाडौं : तिहारको रौनकले घरआँगन रंगिदा नेपाली फिल्मका तिहारसम्बन्धी कैयौं गीतको झझल्को आउँछ। ​यमपञ्चकका पाँच दिनकाे महत्व झल्किएका विभिन्न गीतदेखि देउसीभैलीका गीतले फिल्मप्रेमी मात्र होइन, संगीत र चाडपर्वप्रेमी पनि रमाउने गर्छन्।

तिहार भन्नासाथ अधिकांशलाई शम्भुजित बाँस्कोटाद्वारा संगीतबद्ध फिल्म स्वर्गको ‘तिहारै आयो, लौ झिलिमिली, सुन हजुर भैलिनी आइन् आँगन' गीत सम्झना आउँछ।

शम्भु प्रधानले निर्देशन गरेको यो फिल्म गीतजस्तै अत्यधिक सफल फिल्ममा पर्छ। यो गीतमा लोचन भट्टराईको स्वर छ। यो गीत अहिले पनि देउसीभैलो खेल्ने सबैले बजाउने गर्छन्।

तिहारकै गीतमा 'चिनो' फिल्मको 'दियो बाली साँझको, फूल सजाई पूजाको' गीत पनि कम्ती चर्चित छैन। तुलसी घिमिरेले निर्देशन गरेको फिल्म राते काँइलाको पात्रले जति चर्चा कमाएको छ त्यत्ति नै यो गीत पनि चर्चित छ।

यो गीतमा भारतीय गायिका आशा भोशलेले स्वर दिएकी छन्। निर्देशक घिमिरेकै शब्द र रन्जीत गजमेरको संगीत छ। यो गीतको भिडियोमा कलाकार सुभद्रा अधिकारी र केशव भट्टराई दुवैले संसार छाडिसकेका छन्। फिल्म चिनोको लक्ष्मी पूजाको यो  गीत दुई दशक बितिसक्दा पनि उत्तिकै सान्दर्भिक छ।

तिहार आउँनेबित्तिकै यो गीत याद आइहाल्छ। यस्तै तिहारकै सवालमा बढी सम्झने गरिएको फिल्मको गीतमा अन्याय फिल्मको अधरमा आज उनकै छ गीत पलपली मनमा झल्किन्छ प्रित बोलको गीत पनि छ। मनिला सोताङले गाएको यो गीत अहिले पनि विद्युतीय माध्यममा बज्ने गरेको छ। यो फिल्मका निर्देशक पनि घिमिरे नै हुन्। 

समग्र तिहार भन्दा पनि भाइटिकाको महत्व दर्शाउन खोजिएको फिल्म विजय पराजयको गीत पनि अहिले पनि उत्तिकै महत्वका साथ लिइन्छ। ‘निधारमा लगाएर सप्तरङगी टीका, हिँडिरहु सधैं तिमी शिखरको बाटो बोलको गीत पनि उत्तिकै चर्चित छ। सम्भुजित बास्कोटाको संगीत र हेमलताको स्वर रहेको यस गीतलाई दीनेश अधिकारीले लेखेका हुन्। गीतमा दुई दाजु र एक बहिनी बीचको भाइ टीकाको प्रसङ्गलाई उजागर गरिएको छ। यो फिल्मको निर्देशन राजेन्द्र शलभले गरेका हुन्। 

श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम फिल्म कोहीनुरमा पनि तिहार सम्बन्धि ढकमक्क फूल झलमल बत्ति बोलको एउटा गीत छ। यो गीतमा पनि बास्कोटाकै संगीत छ भने अन्जु पन्त र प्रमोद खरेलको स्वर छ। शब्द सुन्देर श्रेष्ठको छ। आकाश अधिकारीले निर्देशन गरेको यो फिल्मको गीतमा श्रेष्ठ उनकी आमा र पत्नि श्वेता खड्काले अभिनय गरेका छन्। नायक श्रेष्ठको निधन भएको केही वर्षमा नायिका खड्काले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गरिसकेकी छिन्। 

बासुदेव पोखरेलको फिल्म पल्टनमा पनि तिहारको देउसी भैलाे सम्बन्धी गीत छ। हाम्रो पनि आँगनीमा देउसी खेल्न आइसके बोलको गीतले  पनि तिहारलाई जिवन्त रुपमा उजागर गरेको छ।

गीतकार लोकराज अधिकारीको शब्द रचना, अशोक राईको संगीत रहेको गीतमा संजय तुम्रुक, आवा मुकारुङ, रुपक चौधरी लगायतको स्वर छ। बाबुराम ढकालको निर्देशन रहेको पर्खिराख है भन्ने फिल्ममा भैलीसम्बन्धी गीत छ। यसैगरी अनुप बरालको निर्देशनमा रहेको फिल्म फिटकिरीमा पनि तिहारको गीत समावेश छ।

४ दशक पुरानो  फिल्म बदलिँदो आकाशमा पनि तिहार सम्बन्धी गीत छ। सो गीतमा देउसी भैलाेकाे मौलिकपना समावेश छ। सो फिल्मको निर्देशन लक्ष्मीनाथ शर्माले गरेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.