|

झापा : भद्रपुर नगरपालिका-३ स्थित मेचीपारि गाउँमा १८ औं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को भवन उद्घाटन गरिएको छ।

मेचीपारि गाउँवासीको शान्ति सुरक्षा, चोरी, तस्करी तथा सीमा अतिक्रमण रोक्न उद्देश्यले गत २०७७ फागुनमा ९ गते सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको थियो। बिओपी स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गा स्थानीय दाताहरूबाटै आर्थिक रकम संकलन गरी बनाइएको बिओपी भवनको बुधवार एक कार्यक्रमबीच हस्तान्तरण तथा उद्घाटन गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डिआइजी कमल गिरी र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा बिओपी भवनको उद्घाटन गरेका हुन्। बिओपीमा स्थानीय दाताहरूबाट संकलित ६ लाख ८० हजार ६७५ रुपैयाँमा एउटा जवान ब्यारेक, एउटा भान्सा, दुई वटा शौचालय, एउटा गोलघर र गेट निर्माण गरिएको छ।  

त्यस्तै‚ स्थानीयले ३ लाख ५६ हजार ३२१ रुपैयाँ बराबरको निःशुल्क जिन्सी सामग्री समेत बिओपीलाई उपलब्ध गराएको भवन निर्माण समितिका अध्यक्ष निलमकुमार राईले जानकारी दिए। भवन निर्माणका लागि स्थानीय जग्गादाता  मायाराम महतोले चार कट्ठा र कपिलेश्वर महतोले एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएको उनले बताए। त्यस्तै सोही कार्यक्रममा जग्गादाता र आर्थिक रकम सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो। 

उद्घाटन कार्यक्रममा डिआइजी गिरीले सीमा क्षेत्रमा हुने कुनै पनि अपराधका क्रियाकलापलाई नियन्त्रण गर्नका निम्ति व्यावसायिक र इमानदारीका साथ खटिन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। 

बिओपी भवनको २०७७ फागुन ४ गते नगरपालिका प्रमुख श्रेष्ठले शिलान्यास गरेका थिए। मेचीपारि गाउँमा बिजुली, बाटोघाटो, झोलुङ्गे पुलसँगै बिओपी स्थापना भएपछि स्थानीयवासी हर्षित भएका छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.