|

झापा : झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। शनिबार छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटना परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शनिबार बेलुकी ६ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका- ६ गिरीबन्धु टि स्टेट अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको रातो रङको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी स्कुटरमा सवार मेचीनगर नगरपालिका-१० का १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

दुर्घटना परी उनका बुबा स्कुटर चालक ४२ वर्षीय डिल्ली कार्की, नम्बर नखुलेको मोटरसाइकलको पछाडि सवार हल्दिबारी गाउँपालिका-४ का २१ वर्षीय पिजेश लामा घाइते भएका छन्। घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक हल्दिबारी-४ का २५ वर्षीय नरेश तामाङ फरार रहेकाले उनको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए।

त्यस्तै‚ शनिबार राति साढे ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१३ तेलीवारिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटना परी प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचीनगर- ८ का १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए। उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी  प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकल चालक मेचीनगर-८ का २१ वर्षीय अनीश गिरी, प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी, सोही मोटरसाइकलपछाडि सवार मेचीनगर-८ का २१ वर्षीय प्रवीण मेचे घाइते भएका छन्। उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.