पर्वत : बौद्ध तथा हिन्दु दुवै धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको एउटा गुम्बाको पुनर्निर्माण गर्न अमेरिकाले करिब साढे ३ करोड रूपैयाँ सहयोग दिने भएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले मराङ गाउँमा रहेको लो गेखर गुम्बाको जीर्णोद्धार र भूकम्पीय सुरक्षाका लागि नोर्बुसम फाउन्डेसनलाई सांस्कृतिक संरक्षणका निम्ति सहयोग गर्ने सोमबार सार्वजनिक गरेको हो।
दूतावासले राजदूत कोषबाट करिब ३ करोड ३९ लाख अर्थात् २ लाख ८५ हजार अमेरिकी डलर दिने जनाएको छ।
संसारका सबैभन्दा पुराना तिब्बती बौद्ध मठमध्ये एक मानिन्छ- लो गेखर गुम्बा। उक्त गुम्बामा ०७२ सालको भूकम्प र त्यसपछि जलवायु परिवर्तनका कारण ठूलो क्षति पुगेको थियो।
भूकम्प प्रतिरोधी मापदण्डअनुसार पुनर्निर्माण गर्ने परियोजनाले मठ, भवन, कागजात र क्याटलग कलाकृतिहरू पूर्ण रूपमा पुनःस्थापित गर्ने र एक दीगो मर्मत योजना बनाउने अमेरिकी दूतावासको विज्ञप्तिमा उल्लेख छ।
सन् २०२३ को सेप्टेम्बर अर्थात् विसं २०८० भदौसम्ममा गुम्बा पुनर्निर्माण हुने पनि दूतावासले उल्लेख गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।