‘बाह्रबिसे तातोपानी सडक बहुवर्षीय योजना बनाउनुपर्छ’

|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल-चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरेका छन्। 

सभामुख र अर्थमन्त्री शर्माले २०७७ साल असार २४ गते राति आएको बाढी र पहिरोले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरेका हुन्। 

हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहेकाे क्षेत्र, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल-चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गरे। 

अवलोकनका क्रममा उनीहरूले भूकम्प, केही वर्षयताको लगातारको बाढी पहिरोका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयात निर्यातबारे जानकारी लिए। 

अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागी भए। 

छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षीय योजनाको रूपमा लैजानुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्त्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए। 

भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो। सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरूसँग छलफल भइरहेको जानकारी दिँदै छिटै थप सहज हुने विश्वास व्यक्त गरे। 

उक्त सडक खण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे। 

छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए। मन्त्री शर्माले त्यो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए। 

सरकारले चीनसँग समन्वय गरेर सडक निर्माण र भन्सार सहजीकरणका लागि पहल गर्ने जानकारी दिँदै राजमार्ग व्यवस्थित गर्न काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

भन्सार विभागका महानिर्देशक सहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्‍यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो।
 
छलफलमा स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूले जुरे पहिरोदेखि सीमा नाकासम्मको सडकलाई सरकारले प्राथमिकता दिनुपर्ने, बाढी र पहिरोका कारण जोखिममा रहेको बस्ती संरक्षणमा ध्यान दिइनुपर्ने, हाल सडक सुधारका लागि कार्यरत चिनियाँ पक्षसँग माथिल्लो स्तरबाट समन्वय गरी उनीहरूबाट चिनियाँ भूमिका जस्तै गुणस्तरीय निर्माण कार्य गर्ने व्यवस्थाका लागि सभामुख र अर्थमन्त्रीमार्फत पहल हुनुपर्ने धारणा राखेका थिए। 

सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो स्थानमा २०७१ सालयता लगातार ठूला प्राकृतिक विपत्तिले सडक मार्ग नराम्ररी बिग्रन पुगेको छ। जसका कारण सबैभन्दा बढी अरनिको राजमार्गअन्तर्गत बलेफीदेखि नेपाल चीन सीमा नाकासम्मको सडक खण्डमा क्षति भएको छ। 

२०७१ साउन १७ गतेको जुरे पहिरोदेखि बिग्रेको राजमार्ग क्षेत्र पुनर्निर्माण नहुँदै २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बिग्रन पुग्यो। केही सुधारका काम हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले अरनिको राजमार्गअन्तर्गतका धेरै स्थानमा क्षति पुगेको हो।

२०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बनेको थियो भने अरनिको राजमार्ग अवरुद्ध बन्न पुगेको थियो। २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगाएपछि सो क्षेत्रको सडकको अवस्था थप जीर्ण बन्न पुग्यो। 

२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका ५ को जम्बु बजार क्षेत्र र बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती र सडक परियो भने पक्की पुल समेत बगेको थियो। भोटेकोशी गाउँपालिकाको बुल्कुटे‚ डाकलाङ र लार्चामा पनि पक्की पुल सहित सडकमा ठूलो क्षति भएको थियो।  

२०७६ सालको अन्त्यबाट विश्वव्यापी रूपमा देखा परेको कोभिड १९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो। भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका व्यवस्थित गर्न र राजमार्ग व्यवस्थित गरी सुचारु गर्न सभामुख सापकोटाको पहलमा काम हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.