|

सन् २०१९ को एकदिवसीय वर्ल्ड कपको फाइनललाई क्रिकेट इतिहासकै सबैभन्दा रोमान्चक खेलमध्ये एक भन्न सकिन्छ।

फाइनलमा बेलायत र न्युजिल्यान्ड भिडेका थिए। 

क्रिकेटको जन्म भएको देश बेलायतले त्यसअघि ३ पटक फाइनल पुगेर पनि वर्ल्ड कपको ट्रफी उचाल्न सकेको थिएन।

न्युजिल्यान्ड भने लगातार दोस्रो पटक वर्ल्ड कपको फाइनल खेल्दै थियो। त्यसअघि भएको सन् २०१५ को वर्ल्ड कपमा पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डलाई उपाधि लिनबाट अष्ट्रेलियाले रोकेको थियो।

त्यो फाइनल एउटा खेल मात्र थिएन दुई देशको भावना जोडिएको थियो। उपाधिका लागि दुवै टोलीले उत्कृष्ट खेले। 

टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर जम्मा २ सय ४१ रन बनायो।

२ सय ४२ रनको लक्ष्य पछ्याएको बेलायतले ५० ओभर खेलेर सबै विकेट गुमाएर २ सय ४१ रन मात्र बनाउन सक्यो। 

फाइनलको सुपरओभर

त्यसपछि खेल सुपरओभरमा गयो। तर, सुपरओभरबाट पनि खेलको विजेता टुंगो लागेन।

सुपरओभरमा बेलायतले दिएको १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन मात्र बनाउन सक्यो। 

बाउन्ड्रीका (बढी चौका हानेको) आधारमा बेलायत विश्वकपको विजेता घोषित भयो।

उक्त खेलमा न्युजिल्यान्डले ३ छक्का १४ चौका प्रहार गरेको थियो भने बेलायतले ३ छक्का र २३ चौका प्रहार गरेको थियो। 

विश्वकप जस्तो ठूलो प्रतियोगिताको विजेता त्यसरी छान्न नहुने भन्दै आइसिसीको आलोचना पनि भयो।

विश्वकपको फाइनलमा प्रतिद्वन्द्वीले भन्दा थोरै चौका हानेकाले उपविजेता हुनुपरेको धेरैलाई चित्त बुझेको थिएन।

तर न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफूहरू पराजित भएको कुरा सहर्ष स्वीकार गरे।

उपाधि उचाल्नबाट फेरि एकपटक चुकेको थाहा पाइसकेपछि पनि उनको मुहारमा मन्द मुस्कान देखिन्थ्यो। त्यो मुस्कान पछाडीको भाव के थियो भनेर उनलाई मात्र थाहा थियो।

उनी उक्त प्रतियोगिताकै उत्कृष्ट खेलाडी त बनेका थिए तर उनले खोजेको कुरा त्यति मात्र थिएन। 

साटो फेर्‍यो न्युजिल्यान्डले

गत बुधबार आइसिसी टी-२० वर्ल्ड कपको सेमिफाइनलमा न्युजिल्यान्डको भेट फेरि बेलायतसँग भयो।

चाहेर नचाहेर उक्त खेललाई सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलसँग जोडियो। न्युजिल्यान्डलाई बदला लिने राम्रो अवसर भनियो।

विलियम्सनकै नेतृत्वमा रहेको न्युजिल्यान्ड यो पटक बेलायतलाई हराउन सफल भयो र पहिलो पटक टी-२० विश्वकपको फाइनलमा प्रवेश गर्‍यो। 

सन् २००७ मा सुरु भएको टी-२० विश्वकपमा न्युजिल्यान्ड यसअघि दुई पटक सेमिफाइनल पुगे पनि फाइनल पुग्न सकेको थिएन। 

सन् १९३० को दशकदेखि नै अन्तरराष्ट्रिय क्रिकेट खेलिरहेको न्युजिल्यान्डले ७० वर्षसम्म कुनै पनि ठूला अन्तरराष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

विश्वविजेतामा दाबेदारी

पछिल्ला केही वर्षमा भने हरेक प्रतियोगितामा न्युजिल्यान्डले उपाधिका लागि दाबेदारी पेश गर्दै आएको छ। 

न्युजिल्यान्ड सन् २०१९ देखि २०२१ सम्म चलेको टेस्ट च्याम्पियनसिपको विजेता हो।

यतिबेला टेस्ट र एकदिवसीय क्रिकेटको पहिलो स्थानमा रहेको न्युजिल्यान्ड टी-२० विश्वकपको उपाधिका लागि मैदानमा उत्रनेछ। 

उपाधि जितेमा झण्डै सय वर्षदेखि क्रिकेट खेल्दै आएको न्युजिल्यान्डले पहिलो पटक टी-२० विश्वकप उचाल्नेछ र एक पटक फेरि विलियम्सन मुस्कुराउनेछन् तर पराजित कप्तानका रूपमा नभएर विजेता बनेर।

उनको नाम न्युजिल्यान्ड क्रिकेटको इतिहासमा सुनौला अक्षरमा अंकित हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.