|
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ को चुने भन्ने ठाउँनजिकै दूधकोसी किनारमा खसेको सुक्खा पहिरो। तस्वीर : रासस

काठमाडौं : दूधकोसी किनारमा सुक्खा पहिरो झरेर थुनिएपछि सोदु कुरुब्वामलुङ गाउँका बासिन्दा र विद्यार्थी विद्यालय जाने बाटो बन्द भएको छ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो।

दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँनजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीय हर्कबहादुर राईले बताए।

उनका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो। हालसम्म अनुमानित २ सय ५० मिटरभन्दा अग्लो पहिरो झरिसकेको छ।

एक साताअघि झरेको पहिरो अहिले केही रोकिएको छ। तर, अझै बेला बेलामा झर्ने क्रम पूरै रोकिएको भने छैन।

पहिरोबाट झरेको ढुङ्गा, माटो सीधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही थुनिएको छ। 

दूधकोसी करिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न थालेको थियो।

बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म पुग्ने गरेको छ। 

पहिरोले मानेभन्ज्याङ गाउँपालिका-३ को रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन्।

त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने,अर्को गाउँ जाने बाटो नै बन्द भएको छ। 

खचापुलगायत गाउँका बासिन्दा जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिराेकाे शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन्।

पहिरोबाट झरेको ढुङ्गा, माटोले दूधकोसीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए।

पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जङ्गलमा पसेर बग्न थालेको छ।

यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.