|

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल चेक प्वाइन्टदेखि १ किलोमिटर अगाडि कर्णाली राजमार्गमा बिहान ११ बजेतिर अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँ साइडको कलभर्टमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१ की ४४ वर्षीया जमरा शाही रहेकी छन्।

घाइतेलाई बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि कर्णाली केयर अस्पताल सुर्खेतमा पुर्‍याएको थियो। उपचारका क्रममा ४४ वर्षीया शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

त्यस्तै घाइते हुनेहरूमा वीरेन्द्रनगरका ५३ वर्षका लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत् शाही रहेका छन्। उनीहरू दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। वीरेन्द्रनगर-१ का २४ वर्षीय अटो चालक रमेश शाहीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.