|

स्पेनिस ला लिगामा जारी सिजनमा बार्सिलोना खराब प्रदर्शनको शृंखलाबाट गुज्रिरहेको छ।

हरेक सिजन उपाधि दौडमा रहने बार्सिलोनालाई यस पटक च्याम्पियन्स लिग यात्राका लागि समेत संघर्षरत छ।

बार्सिलोनाले लिगमा एकपछि अर्को खेलमा पराजित हुँदै गएपछि ३ साताअघि मात्र प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो।

आफ्ना पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेपछि बार्सिलोना केही उत्साहित भएको छ।

सन् २०२४ सम्मका लागि जाभी टोली सम्हाल्न तयार भएसँगै बार्सिलोनाले उनीसँग सम्झौता गरेको थियो।

४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा हाइस्कोरिङ खेलमा सेल्टा भिगोसँग ३-३ गोलको बराबरीमा चित्त बुझाउनु परेको थियो।

उक्त खेलमा बार्सिलोना पहिलो हाफमै ३ गोलको अग्रता लिएर पनि पछि खेल बराबरीमा सक्किँदा अंक बाँड्न बाध्य भएको थियो।

सेल्टाभिगोसँगको खेलपछि निकै आक्रामक देखिएका जाभीले टिम सुधारका लागि ठोस योजना ल्याउने बताएका छन्।

जाभीले खेलपछि भने, 'सेल्टाभिगोसँग जे भयो, त्यो ठीक भएन। पहिलो हाफमा ३ गोलले अगाडि रहेर पनि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै राम्रो होइन। यसले हामीलाई समीक्षा गर्नुपर्ने बनाएको छ।' 

जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आबद्ध हुन पाएकोमा गर्व गर्न अनुरोधसमेत गरे।

१७ वर्ष खेलाडीका रुपमा बार्सिलोनामा बिताएका जाभीले ८ पटक स्पेनिस ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।

उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए। उनी पछिल्लो समय कतारी क्लब अल-सादमा आबद्ध थिए।

जाभीले सन् २०१० मा स्पेनलाई विश्वकप उपाधि जिताउनुका साथै २ पटक युरोपियन च्याम्पियनसिपसमेत जिताएका थिए।

जाभीको प्रशिक्षणमा उत्साहित देखिएको बार्सिलोना अब हुने सबै खेलमा सुखद नतिजा निकाल्ने तयारीमा जुटेको छ।

खेलाडीलाई कडा अभ्यास गराइरहेका जाभी आगामी खेलमा लगातार जित निकाल्ने योजनामा छन्।

बार्सिलोनाले भर्खर ब्राजिलियाली रक्षक ड्यानी आल्भेसलाई क्लबमा अनुबन्ध गरेको छ। तर, उनी तत्काल मैदानमा भने देखिने छैनन्।

बार्सिलोना अहिले १७ अंकसहित लिगमा अंक तालिकाको नवौं स्थानमा छ।

१२ खेल खेलेको बार्सिलोनाले ४ जित, ५ बराबरी र ३ पराजय भोगेको छ।

ला लिगाको आफ्नो १३औं खेलमा बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा एस्पानोलसँग प्रतिस्पर्धा गर्दै छ।

जारी लिगमा रियल सोसिदाद २८ अंकका साथ शीर्षमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.