संचारको माध्यम भाषा हो। भाषा भनेको शरिरमा भएका नसामा रक्त संचार प्रवाह भएर जीवनलाई धाने जस्तै हाे। मानवका लागि भाषा लगभग उस्तै उस्तै हो।
विश्वमा असंख्य भाषाहरू छन। गन्ती गरेर साध्य छैन। हाम्रो देशमा मात्र १२५ वटा बोलिने भाषा छन। तीमध्ये कतिपयको कथ्यरुप भेटिँदैन। कतिपय भाषा लोप भइसके। बोली र लेखन छैन। कतिपय भाषाका बोलीका आधार भए पनि लेख्य रुपमा विकास हुन सकेको छैन।
सरकारले राष्ट्रिय भाषाको रुपमा पहिचान र विकास गर्ने भनिए पनि अहिलेसम्म आशलाग्दो काम हुन सकेको छैन। १२५ राष्ट्रिय भाषा मध्ये अहिलेसम्म कतिवटा भाषा होलान्, जुन मातृभाषाका रुपमा प्राथमिक शिक्षा प्रदान गरिएको होस। औँलामा गन्न पुग्ने अवस्थामा छौ। यसतर्फ सरकारको ध्यान जानु नितान्त आवश्यक छ।
हाम्रो देशको सन्दर्भमा नेपाली भाषाले राष्ट्र भाषाको रुपमा मान्यता पाएको छ। एघारौं शताब्दी तिर लेख्य रुपमा शुरुवात भएको खस भाषा नेपाली भाषाको रुपमा विकसित हुँदै गएको हो। अहिले त नेपाली भाषा अन्तर्राष्ट्रियस्तरसम्म पुगेर प्रचार,प्रसार भइरहेको छ। समयक्रममा परिमार्जन हुँदै राष्ट्रिय भाषाको सहयोगमा विकास भएको नेपाली भाषामा अहिले भने धमिरा लाग्न थालेको छ।
राष्ट्रिय भाषाको वहाव राष्ट्रभाषामा रुपान्तरित हुनु समय सापेक्ष मानिन्छ। तर नेपाली भाषामा अन्तर्राष्ट्रिय भाषाको प्रभाव बढदै जानु निको होइन। नयाँ आविष्कार वा प्रविधिक कुरामा वाहिरी भाषाको प्रभाव हुनु स्वभाविक हो। तर नयाँ प्रविधि वा रोगको उत्पतिका सबैजसो शब्दहरू जस्ताको तस्तै प्रयोग गर्दै जानु र खोजीनिती नगरी व्यवहारमा ल्याउनु ठीक होइन।
सन्दर्भ वर्तमानको विश्व महामारीको प्रचलनमा आएको कोरोना रोगसँग सम्बन्धित व्यवहारमा आएको सबै अंग्रेजी शब्दहरू हुबहु मिडियाले रातोदिन रट लगाउँदा राष्ट्रभाषाका शब्दहरू नै ओझेलमा परेका छन्। प्रयोगमा आइरहेका अंग्रेजीका गाह्रा शब्द उच्चारण गर्न र बोल्दा अर्थ नलाग्ने खालका शब्दको दोहोरी गाउनु राम्रो होइन। देशका अंग्रेजीवाजको लहडमा वा मिडियाले पनि सुझो न बुझो पराइ भाषा प्रति लहसिनु ठीक होइन।
हाम्रो देश नेपाल, हामी नेपाली, भाषा हाम्रो नेपाली। तरपनि हामी सात समुद्र पारिका बोलीमा ध्यान दिन्छौं, प्रयोग गर्दा जान्ने भै टोपल्छौं। बेल्दा, लेख्दा, प्रशारण गर्दा ठालु पल्टेको अनुभव गर्छौ। अर्थात नेपाली बोल्दै गर्दा बीचबीचमा अंग्रेजी शब्द घुसाएर आफनो भाषा विरूप बनाएको हेक्का राख्दैनौ।
श्रव्य दृष्यमा देखिने गाँठो परेको र गोलाकारको कोरोना, हाम्रो धतुरोको बनोटसँग मिल्दो जुल्दो छ। अत कोरोनालाई धतुरे रोग भन्दा वा मान्दा फरक पर्ला र । कोरोना पनि आकृतिमा देखिए जस्तो जीव त हाेइन होला, सृजना गरेको न हो।
अतः अब हामी लेख्ने बोल्ने, पढ्ने श्रव्यदृश्य चलाउनेले पनि कोरोनालाई धतुरे रोग भनि प्रयोगमा ल्याउँदा राम्रै हुन्छ। अरूबेला अतिक्रमणले नेपाली भाषा थला पर्दै गएको थियो यसपटक धतुरे रोगले पनि थप थला पारिदियो।
बर्तमान धतुरे रोगको महामारीमा अंग्रेजी भाषाको ज्ञान नभएकाले पनि लकडाउनको रट लगाउनु कतिको सान्दर्भिक छ ? बुभ्mन सकिएन। अर्थ न वर्थको शब्दको साटोमा आफनो भाषाको शब्द वन्दावन्दीको अवस्था वा वेला भन्दा अर्थ पनि खुल्छ र वोल्दा सहज पनि हुन्छ। कोरोना रोगको टाउकादेखि पैतालासम्मका विदेशी भाषाका शब्दहरू संचार माध्यमले बढी प्रयोग गरेका कारण सर्वसाधारणलाई पनि वानी लाग्न थालेको छ। के हाम्रो भाषा त्यति गरीब छ र ? जसको रुपान्तरणको रुपमा प्रयोग गर्न नसकियोस ।
क्वाराइन्टेनमा वस्ने भन्दा त्यति सहज लाग्दैन र बोल्दा पनि अफ्टयारो हुन्छ। साटोमा प्रथमिक उपचार कक्षमा भन्दा सजिलै वुझिने हुन्छ। त्यस्तै आइसोलेशन र अहिले होम आइसोलेशम भन्दा केहो केहो जस्तो लाग्छ, सट्टामा एकान्तवास वा घरमै एकान्तवास वा थलोे भन्दा हुन्छ नि। अहिले आएर हटस्पट शब्दको प्रयोग बढेर गएको छ, त्यसको ठाउँमा बढी सक्रमित क्षेत्र वा रोगको केन्द्रविन्दु ठाउँको प्रयोग गर्दा हुन्छ। विरामी जाती भएर फर्कदा घर फिर्ती भन्दा हुन्छ, अर्काको भाषा डिसचार्ज किन भनि रहनु परयो ?
माथिको सन्दर्भले आफ्नोलाई हेला अर्काको चाही खसी,बकरी एकै धोकरी भने जस्तो गोरो छाला देख्ना साथ जदौ भन्ने ? अर्थात कोरोना रोगसंग सम्बन्धित लादिएका सबै अंग्रेजी शब्दहरू नेपालका संचार माध्यमहरुले हुबहु रट लगाइरहेको अवस्था छ। यसले राष्ट्र भाषा नै अलमलमा परेको छ। यस्तै गर्दै जाने हो भने नेपाली भाषाको कन्तविजोग हुन्छ र हामी छाडा हुन थाल्छौ। अंग्रेजीका शब्द सबैका लागि उच्चारण गर्न गाह्रो हुने र वोल्दा अर्थ नलाग्ने अंग्रेजी शब्दको दोहोरी लाउनु राम्रो होइन।
प्रयोगमा आउने र आएका शब्दको अर्थ पहिल्याइ हाम्रो राष्ट्र र राष्ट्रिय भाषाबाट पनि खोजविन गर्न सकिन्छ। साथै भाषा विषयका ज्ञाताहरु समेतको सहयोगमा अनुसन्धान गरी प्राप्त उपयुक्त शब्दको चयन गरी समावेश तथा प्रसार गर्न सकिन्छ। आफनो भाषा प्रति सबैको माया रहनु जरुरी छ। यसमा संचार माध्यम पनि जिम्मेवार हुनुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।