इलाम : पछिल्लो समय नेपाली कांग्रेसको नेतृत्वमा युवा आउने थालेका छन्। १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि केही जिल्लाको अधिवेशन सम्पन्न भइसक्दा यसअघिका महाधिवेशनको तुलनामा नेतृत्वमा युवा बढी देखिएको हो।
१३औं महाधिवेशनअघि नेपाली कांग्रेसको नेतृत्वमा प्रौढ हुने गर्दथ्यो। गाउँ विकास समिति तहका उम्मेदवार नै एकाधबाहेक ५० वर्ष आसपासका हुन्थे। तर‚ १४औं महाधिवेनमा आइपुग्दा नेतृत्वमा धेरै युवा पुगेका छन्। जिल्ला तहसम्मका निर्वाचनमा चुनिएका उदीयमान युवा प्रतिनिधित्वले नयाँ आशा जगाएको नेपाली कांग्रेस इलामका निवर्तमान सभापति हिमालय कर्मचार्य बताउँछन्।
‘तुलनात्मक रुपमा १४औं महाधिवेशनमा युवाहरूको सक्रियता बढ्दो देखिन्छ। पार्टीको नेतृत्वमा युवाहरूको सक्रियता देखिनु कांग्रेसको लागि फाइदाजनक नै छ। क्रियाशील सदस्यलाई हेर्दा पनि युवाहरूको कांग्रेसमा आर्कषण राम्रो छ‚’ उनले भने‚ ‘ तर‚ चुनौती पनि छ। कम अनुभवका कारण पार्टीलाई गतिशील बनाउनका लागि केही नयाँ भिजन चाहि चाहिन्छ। पुराना र नयाँको सहकार्यबाट कांग्रेसले बलियो पार्टी बन्छ भन्ने विश्वास छ।’
१३औं महाधिवेशनबाट निर्वाचित सभापति कर्मचार्यले यसपटक सभापतिमा उम्मेदवारी दिएनन्। उनीसँगै राज्यमन्त्री समेत भइसकेको पूर्वसभापति केशव थापाले समेत उम्मेदवारी दिएनन्। यस पटक उनीहरूको समर्थन युवा पुस्ताका डम्बर खड्कालाई थियो। इलाम कांग्रेस नेतृत्वमा डम्बर खड्का र भेषराज आचार्यबीच रोचक प्रतिस्पर्धा भयो।
१३औं महाधिवेशनमा समेत सभापतिको उम्मेदवार रहेका खड्का पहिलो चरणको निर्वाचनबाट पराजित भएका थिए। त्यसअघि उनी जिल्ला कोषाध्यक्ष थिए। तर‚ पाँच वर्षपछि १४औं महाधिवेशनमा निवर्तमान सभापति हिमालय कर्मचार्य र पूर्वसभापति केशव थापाको सर्मथनमा उनी सभापति बने। सभापतिमा निर्वाचित हुनेबित्तिकै खड्काले एक करोड रूपैयाँ लागतमा पार्टी कार्यालय बनाउने उदघोष गरेका छन्। खड्का निर्वाचन ताका नै पार्टी कार्यालय निर्माण, भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै गराउने लगायतका एजेन्डा लिएर मैदानमा होमिएका थिए।
हालसम्म जिल्ला नेतृत्व हेर्दा युवापुस्ताको हस्तक्षेप बढ्दो देखिएको छ। रोचक त के भने भर्खरै विद्यार्थी राजनीतिमा पाइला टेक्दै गरेको पुस्ताहरू नेतृत्वमा आउँदा कांग्रेसका हस्ती भनिएकाहरू भने पराजित भइरहेका छन्। काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका ३२ वर्षीय निश्कल राईले आफ्नो बाबु समानमा उम्मेदवारलाई दोब्बर मतान्तरले पराजित गर्दै इलाम क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सभापति जिते। उनले १६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी श्यामबहादुर कार्कीले ८३ मत मात्रै पाएका थिए। निश्कलसँगै युवा पुस्ताका शुभक श्रेष्ठले पनि प्रतिस्पर्धा गरेका थिए। निश्कल यसअघि इलाम क्षेत्र नम्बर १ क्षेत्रीय समितिका सहसचिव थिए।
विद्यार्थी राजनीकति पृष्ठभूमिबाट आएका जिल्ला सहसचिव देवेन्द्र सुवेदीसमेत ३५ वर्ष हाराहारीका छन्। उनले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट सन्दकपुर गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। नेविसंघ इलामका निर्वतमान सभापति एवं माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो इलाम क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित भएका छन्। इलाम क्षेत्र नम्बर १ मा रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले निर्वतमान सभापति दुर्गा बरालसहित यसअघिका महाधिवेशनमा नेतृत्वको उम्मेदवारहरूलाई हराउँदै क्षेत्रिय सभापति बने।
सूर्योदय नगरपालिका–१ की वडा सदस्य मैया लिम्बु इलाम क्षेत्र नम्बर १ (क)की क्षेत्री सभापति बनेकी छन्। २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ४ प्रदेशसभा निर्वाचन क्षेत्र र १० स्थानीय तह रहेको इलाममा मैयाबाहेक १४ औं महाधिवेशनमा सभापति बन्ने अन्य महिला छैनन्।
स्थानीय तहमा समेत धेरै युवाहरूको प्रतिनिधित्व छ। यस पटकको निर्वाचन गत वर्षहरूभन्दा फरक देखियो। जिल्ला र प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा यसअघि सभापति नभएका नयाँ युवा पुस्ताले निर्वाचनमा विजय हासिल गरेका छन्।
लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा युवाहरू आकर्षण बढेपछि नयाँ ऊर्जा पनि थपिएको छ। यसले भविष्यमा कांग्रेसको नाममा राजनीति गर्न चाहने पुस्ताका लागि मैदान फराकिलो हुने विश्वास लिएको जिल्ला सचिव निरोज खड्गी बताउँछन्। यही गतिमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासतमा ठूलो टेवा पुग्नेछ। अहिलेको अवस्थामा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको हिसाबमा ४० प्रतिशत १६ देखि ४० वर्षभित्रका छन्।
पछिल्लो समय युवा पुस्ताहरूको सहभागिताले पार्टीले नयाँ खाका कोर्न सहयोग पुग्ने खड्गी बताउँछन्। ‘कांग्रेसमा हामीजस्ता युवाहरू पनि छौं। ६० भन्दा माथिका अग्रजहरू पनि चुनाव जितेर आउनुभएको छ। फरकफरक पुस्ताको सहभागिताबाट पार्टी बलियो बनेर जान्छ‚’ खड्गीले भने‚ ‘२ फरक पुस्ता मिलेर गति लिन केही समय लाग्ला तर पार्टी सक्रिय रुपमा अघि बढ्नेमा दुई मत हुन्न।’ खड्गी दोश्रो कार्यकाल सचिव भएका हुन्।
‘अब कांग्रेस बुढाहरूको मात्र पार्टी रहेनְ’
कांग्रेसका निर्वतमान कोषाध्यक्ष विष्णु कार्कीले कांग्रेसमा युवा पुस्ताको सहभागितालाई अरुले भन्दा फरक दृष्टिकोणले हेरेका छन्। उनी युवा सहभागितासँगै कांग्रेसलाई अरुले हेर्ने दृष्टिकोण बदलिएको धारणा राख्छन्।
‘कांग्रेस बुढो पार्टी‚ ७० वर्ष बुढो पार्टी‚ युवा छैनन भन्नेलाई गतिलो जवाफ दिएको छ‚’ उनले भने‚ ‘इलामकै हकमा १७ वर्षदेखि ८७ वर्षसम्मका प्रतिनिधि छन् भनेपछि कांग्रेस सवै उमेर समूहको समिश्रण हो भन्ने सन्देश जनमानसमा दिन सकेका छौं।’
युवा पुस्ताको सहभागितासँगै कांग्रेसभित्रको अन्तरद्वन्द्वले युवा पुस्तामा गुट‚ उपगुटको भावना सिर्जना हुनेमा पनि सजग हुनुपर्ने कार्कीको भनाइ छ। ‘कांग्रेसमा समग्रमा हेर्दा झन्डै ४० प्रतिशत युवा छन्। उनीहरू पार्टीको भविष्य हुन्। तर‚ कतिपय ठाउँमा युवा पुस्तालाई राजनीतिक सैद्धान्तबारे प्रशिक्षण गराउन नसकेको अवस्थामा साख जोगाउन चुनौती छ‚’ उनी भन्छन्‚ ‘अहिलेको युवाले भरिएको कांग्रेस प्रशिक्षित र संगठित भन्ने अर्थ राख्छ। उनीहरूलाई प्रशिक्षित गर्ने हो भने कांग्रेसको समाजवाद र आदर्श सिद्धान्तअनुसार परिचालित गराउन सक्ने हो पार्टीको भविष्य एकदमै राम्रो छ।’
उनी अझै पनि धेरै क्षमतावान युवा पुस्ताहरू कांग्रेसको संरचनाभन्दा बाहिर रहेकाले उनीहरूलाई समेटेर जानुपर्ने बताउँछन्। ‘युवाहरू सहभागिता बढिरहे पनि धेरै युवा पार्टीको राजनीतिबाट पलायन भएका छन्। कतिपय सक्षम युवाहरू कांग्रेसको संरचनाबाट बाहिरिएका छन्‚ उनीहरूलाई समेटेर सँगै लिएर जाने वातावरण बनाउने हो भने बिपीको सपनाअनुसारको कांग्रेस बन्छ। किसानले सोचे अनुसारको कांग्रेस बन्छ‚’ उनले भने‚ ‘तर‚ त्यसका लागि गुट र उपगुटभन्दा माथि उठ्नुपर्छ। कांग्रेस बन्नुभन्दा पहिला दाइको कांग्रेस दिदीहरूको कांग्रेस फल्नो खेमाको कांग्रेस भन्न छाडेर अघि बढेमात्र सक्षम पार्टी बन्न सक्छ। बिपी, गणेशमान, गिरिजाप्रसादले परिकल्पना गरेको कांग्रेस बन्न सक्छ।’
युवाहरूको सहभागिता बढेसँगै अहिले कांग्रेसको केन्द्रमा समेत नेतृत्व परिर्वतनको चर्चा सुरु भएको छ। तल्लो तहमा युवा पुस्ताहरूको प्रतिनिधित्व भएसँगै केन्द्रमा समेत नयाँ नेतृत्व चयनका लागि नेताहरूको दौडधुप छ। महाधिवेशन प्रतिनिधि र कार्यसमितिमा युवा पुस्ताहरूको सहभागितापछि केन्द्रको नेतृत्व चयन समेत रोचक बन्ने कांग्रेसका नेताहरूको बुझाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।