|

हेटौंडा :  शुक्रबार हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन विश्वविद्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन चलिरहँदा  दाङ घर भएका सुनिल कमल कंडेल परीक्षा दिइरहेका थिए।

वन विज्ञान विषय पढिरहेका उनको गत मङ्सिर ८ गतेदेखि स्नातकोत्तर तहको परीक्षा चलिरहेको छ। उनको परीक्षा चलेदेखि नै विश्वविद्यालय परिसरमा कांग्रेस अधिवेशनको चहलपहल सुरू भएको थियो। शुक्रबार झन् परीक्षाकै दिन कांग्रेस अधिवेशन परेपछि परीक्षा हलमा उनलाई परीक्षा दिन सहज भएन।

परीक्षा कक्षा बाहिर चलेको भाषण,नाराबाजी र होहल्लाले परीक्षा दिन असहज भएको उनको गुनासो छ। उसो त पढाइकै लागि विश्वविद्यालयको होस्टलमा बस्दै आएका उनले सहजै पढ्न पनि पाएका होइनन्। पढ्ने बेलामा पनि कांग्रेस अधिवेशनमा भएको भाषण र नाराबाजीले आफ्नो पढाइमा असर गरेको उनी बताउँछन्।

'पढ्न भनेर आँट्यो बाहिरबाट माइकमा ठूलो आवाज आउँछ। अनि जति नै पढाइमा ध्यान दिन्छु भनेपनि सकिदैन', उनले भने, 'हिजो झन् परीक्षा चल्दा बाहिरको हल्लाले धेरै नै डिस्टर्ब गर्‍यो।'

उनले आफूहरूको परीक्षा चल्दा क्याम्पस परिसरमा पार्टीको कार्यक्रम नराख्न आग्रह गरेको भएपनि क्याम्पसमा भएको खुल्ला चौर त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र आफूहरूले केही गर्न नसक्ने प्रतिकृया दिएको बताए।

वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर तहमै अध्ययनरत समीर पुन मगर कांग्रेस अधिवेशनले पढाइमा असर पुग्ने भएपछि विगत केहिदिन देखि होटलमा बसिरहेका छन्। क्याम्पस परिसरमा रहेको होस्टलमा बस्दा अधिवेशनको हल्लाले पढ्न नपाउने भएपछि उनी होटलमा बसिरहेका हुन्।

पढ्नका लागि होस्टेल छोडेर होटलमा बसेपनि परीक्षा दिने बेलामा भने उनलाई असहज भयो। 'परीक्षा आधा जति भएपछि बाहिर जिन्दावादको नारा लागेको सुनियो। बाहिरबाट हल्ला आएपछि डिस्ट्र्याक भइहाल्यो। बाहिरको माहौल शान्त नभएसम्म सजिलै लेख्न सकिएन', उनले भने।

मगरले सरकारी क्याम्पसहरूमा पनि विद्यार्थी संगठनहरू हुने भएकोले स-साना कार्यक्रम भएपनि ठूलो कार्यक्रम भने गर्न नहुने बताए।

उनले परीक्षा चलिरहँदा पनि क्याम्पस प्रशासनले पार्टीको कार्यक्रम हुन दिएको भन्दै असन्तुष्टि जनाए। वन विज्ञान विश्वविद्यालयमा मङ्सिर ८ गतेदेखि स्नातकोत्तर तहको परीक्षा चलिरहेको छ।

विश्वविद्यालय परिसरमा १६ गते बिहीबारबाट नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन चलिरहेको छ। विश्वविद्यालय परिसरमा रहेको खुल्ला चौर र केही भवन कांग्रेस अधिवेशनको लागि प्रयोग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.