|

नेपाली साहित्यमा उनका बारेमा नजान्ने, उनका कृति नपढ्ने र उनलाई मन नपराउने सायदै होलान्। विक्रमको चालीसको दशकदेखि नै नेपाली कविता, निबन्ध, कथा साहित्यमा जबरजस्त उपस्थिति जनाउँदै अाएका उनले दशकयता भने नेपाली उपन्यासमा सशक्त हस्तक्षेप गर्दै आएका छन्। 

लामो समय कृषि विकास बै‌ंकमा जागिरे जीवन बिताएका उनको लेखनको महत्त्वपूर्ण विशेषता भन्नु नै सामान्य जनजीवनलाई आफ्ना सिर्जनामा टपक्क राख्नु हो। यही कारण हो उनलाई अाममान्छेका लेखकका रूपमा हेरिनु पनि। हो, उनै आममान्छेका लेखक अर्थात् कृष्ण धरावासी पछिल्लो झण्डै तीन दशकदेखि 'लीला'को पछि दौडिरहेका छन्।

लीला अर्थात् जीवन! उनकै शब्दमा भन्दा लेखनको एक विशिष्ट शैली। वि. सं. २०३४ मा ईन्द्रबहादुर राईले लीलालेखनबारे एउटा लेख काठमाडौँबाट प्रकाशन हुने 'रूपरेखा' पत्रिकाको २००अौँ अंकमा छपाएपछि लीलालेखनबारे बहस र चर्चा सुरु भयो। त्यही लेख पढेपछि धरावासी लाेभिए लीलातर्फ। 

धरावासीले भरखर मात्र ‘लीलाबोध’ नामक कृति प्रकाशन गरेका छन्। उनको यस कृतिमा ४० वर्ष अगाडि भारतको दार्जिलिङका सर्जक ईन्द्रबहादुर राईको लीला–लेखनलाई अध्ययन गरेर प्रस्तुत गरेका छन्। ‘ईन्द्रबहादुर राईले रूपरेखामा प्रकाशित लेखमा नेपाली साहित्यमा लेखन शैलीको विकास हुनुपर्छ भन्ने प्रस्ताव गर्नुभएको थियो’, धरावासी भन्छन्, ‘त्यसपछि उहाँले लेखनमा तथा अभिव्यक्तिहरूमा लीला–लेखनको बारेमा बताउँदै जानुभयो।’

२०४५ मा ‘कठपुतलीको मन’ कथा प्रकाशन भएको र त्यो कथा लीला–लेखनकै सिद्धान्तमा रहेको धरावासी बताउँछन्। 'त्यस कृतिमा आठवटा कथा छन्। त्यस पुस्तकमै लीला–लेखनको बारेमा लेखिएको थियो', धरावासी भन्छन्, 'त्यही पढ्दै, अध्ययन गर्दै मैले लीलाबोध लेखेको हुँ।’

राईको उक्त कथा पढिसकेपछि आफूले २०५३ सालमा ‘लीला–लेखन’ समालोचना नै छापेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘कथा बजारमा आएपछि बजारमा चर्चा परिचर्चा भए। त्यसपछि मैले गणेशबहादुर प्रसाईं, बैरागी काइँला, दान खालिङको सल्लाह सुझावमा मलाई लीला–लेखन बुझेजस्तो भयो र मैले लीला लेखनमाथि समालोचना तयार पारेँ।’

त्यस समालोचनामा ईन्द्रबहादुर राईका आठ कथाको विश्लेषण छ। त्यसपछि उनले बुझेको लीला–लेखनका बारेमा छ।

२०४५ सालदेखि निरन्तर लीला–लेखन गरेका धरावासीले नेपालमै पहिलो पटक २०५६ मा लीला लेखनको प्रयोग गरेर ‘शरणार्थी’ उपन्यास प्रकाशन गरेका बताउँछन्। उनी भन्छन्, ‘नेपाली साहित्यको इतिहासमा पहिलो पटक नै हो शरणार्थी लीलालेखनमा लेखिएको।’ अहिले यो उपन्यास नेपाली विषयअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा बीएड तेस्रो वर्षमा र नर्थ बंगाल युनिर्भसिटीमा पढाइ हुन्छ। अहिले नेपाली साहित्यमा लीला–लेखन लेखन प्रवृत्तिका रूपमा विकास भएको उनी दाबी गर्छन्।

पछिल्लो समय लीला–लेखन विद्यार्थी र आमपाठकलाई आवश्यक भएकाले ‘लीला–बोध’ प्रकाशन गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘मेरो २७ वर्षको लीला–लेखनको अध्ययनलाई समेटेर यो पुस्तक तयार पारेको छु।’ यो पुस्तक सबैका जिज्ञासा पूरा गर्न लेखिएको पनि उनी बताउँछन्।

यसलाई किन ‘लीला–बोध’ भनियो? भन्दा उनी भन्छन्, ‘लेखन त लेख्नेलाई मात्र आवश्यक पर्छ। यो लेखकहरूका लागि सिद्धान्त, नलेख्ने पाठकका लागि जीवनदर्शन हो।’ लीलाको अर्थ खेल भएको उनी बताउँछन्। ‘लीला–बोधमा मैले समयको परिर्वतनसँगै जीवनशैलीको परिवर्तनका कुरालाई पनि समावेश गरेको छु’, उनी भन्छन्, ‘कुनै समय एउटै कुरा धेरै महत्त्वपुर्ण हुन्छ भने लामो समयपछि त्यो कामै नलाग्ने पनि हुनसक्छ, यसै विषयलाई मैले मेरो पुस्तकमा समावेश गरेको छु।’

के हो लीलालेखन?

लीला खेल हो। जीवन आफैँमा लीलामय छ भन्ने मान्यता हुन्छ रे लीलालेखकहरूको। जीवनलाई जीवन जस्तै रूपमा लेखनमा पनि प्रस्तुत गर्नु नै लीलालेखन हो रे! धेरैलाई लीलालेखन दर्शन वा नयाँ सिद्धान्त हो भन्ने लाग्न सक्छ, 'तर होइन', धरावासी भन्छन्, 'लीलालेखन उत्तरअाधुनिकतावादकै पूर्वीय स्वरूप हो।' उनका अनुसार पश्चिमाहरूले 'पोष्ट मोर्डनिजम'बारे व्यापक बहस गरिरहँदा हामीले हाम्रै लेखनशैली र प्रवृत्ति विकास गर्नु जरुरी थियो, त्यसकै परिणाम लीलालेखन विकसित हुन पुगेको हो।

'वास्तवमा जीवन भ्रममय छ। हामी मानव हरेक पल भ्रम बाँचिरहेका छौँ। जब एउटा भ्रमबाट मुक्त हुन्छौँ, पुन: अर्को भ्रममा फस्छौँ', धरावासीले भनेका हुन् यी। उनका अनुसार हामीमा पछिल्लो यथार्थले अघिल्ला विश्वास तोडिने र पुन: नयाँ भ्रम जाेडिने क्रम निरन्तर चलिरहन्छ रे! हो, त्यही भ्रम नै हामीले बुझेको 'सापेक्ष' र 'क्षणिक' सत्य हो रे!

धरावासी मान्छे बुद्धि र मनले चल्छ भन्दै लीलाले बुद्धिलाई ज्ञानमा रूपान्तरण गरेर जीवनबाेध गराउने उद्देश्य राखेको बताउँछन्। भन्छन्, 'जब दिमागबाट बुद्धि मनतिर झर्छ, तब मात्र ज्ञानको रूप लिन्छ। हो, यही कुरा नै लीलाबोध हो।' यसका लागि मान्छेले जीवन-भ्रमको यथार्थ भने स्वीकार गर्नै पर्ने धरावासीको धारणा छ।

यही कुरालाई उनले आफ्नो पछिल्लो कृति 'लीलाबाेध'मा उल्लेख गरेका छन्।

'साहित्य कृषि जस्तै हो'

कृषि विकास बैंकमा २५ वर्ष जागिर खाएर अवकाश भएका उनी पछिल्लो समय फुर्सदिला बनेका छन्। झापाको शनिश्चरे (हाल : शनि–अर्जुन नगरपालिका)मा लामो समय बसे पनि उनी अहिले काठमाडौँमा बसाइँ सरेका छन् भने केही वर्षयता उनी अमेरिका बस्दै आएका छन्। उनी अमेरिकाबाट अहिले गृह जिल्ला झापा आएका छन्। झापामा अहिले उनी विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका छन्। अहिले उनी पूर्णकालीन लेखक जस्तै बनेका छन्।

धरावासीले लेखेको ‘राधा’ उपन्यासले २०६३ सालमा मदन पुरस्कार समेत पाएको थियो। यस्तै उनको कथा ‘झोला’माथि चलचित्रसमेत बनेको छ। उक्त चलचित्र दर्शकको रोजाइको चलचित्रसमेत बन्न सफल भएको छ।

‘झोला मैले मेरी आमालाई सम्झेर लेखेको कथा हो’, धरावासी भन्छन्, ‘चन्द्रशमशेरले सतीप्रथा नहटाएको भए म यतिबेला धरावासी हुन्थेँ कि हुन्न थिएँ।’ सतीप्रथा हटेर त बाबु खसे पनि आमाले दुःख गरेर पढाउनुभएको उनी बताउँछन्। यहाँ सम्म आफूलाई ल्याइपुर्‍याउन आमाको विशेष भूमिका रहेको उनी बताउँछन्। ‘यसै कारण झोला लेखेको हुँ’, उनी भन्छन्।

साहित्यमा निरन्तरताको आवश्यकता रहेको बताउँछन् धरावासी।  साहित्य मुड चलेको भरमा लेखेर नहुने, यसलाई निरन्तरता दिन आवश्यक पर्ने उनको बुझाइ छ। ‘मुड चलेको भरमा एक÷दुईवटा कृति निकाल्दैमा साहित्यकार भइँदैन’, धरावासी भन्छन्, ‘मसँगै साहित्य लेख्ने साथीहरू पनि त छन्, उनीहरू आज किन चर्चामा आएनन् र म आएँ?’ आफूले निरन्तर साहित्य नलेखेको, निरन्तर किताब नै निकालेको नभएमा आफू धरावासी नहुने कुरामा उनी प्रस्ट छन्। ‘अहिलेका युवा पुस्तामा पनि राम्रो जोश छ। सबैले मिहिनेत गर्नुपर्छ। पछि एक जना त स्टार बन्छ नि!’, उनको सुझाव छ, ‘त्यसैले यसलाई निरन्तरता दिनुपर्छ, सँगसँगै अध्ययन पनि गर्नुपर्छ।’

साहित्यकारले पनि एउटा कृषकजतिकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन्। नेपाली साहित्यमा पनि जसले राम्रो लेख्न सक्छ, त्यो बाँच्न सक्ने उनको धारणा छ। एक पटक निकालेको कृतिले पाठक राम्रो पाएन भनेर छोड्न नहुने सल्लाह दिन्छन् धरावासी। ‘किनकि एउटा कृषकले एक पटक बाली राम्रो भएन भनेर अर्को पटक लाउन छाड्दैन, र त उसको राम्रो भएको छ, साहित्य पनि कृषि जस्तै हो।’

आत्मरतिमा नेपाली साहित्य

नेपाली साहित्यलाई अहिले नै विश्व साहित्यसँग तुलना गर्न नसकिने उनी बताउँछन्। ‘हुनत नेपाली साहित्य पनि विश्व साहित्य नै हो। नेपाल पनि विश्वको एक भूभाग हो’, उनी भन्छन्, ‘तर यसो भन्दैमा नेपाली साहित्य विश्वस्तरको भने होइन। नेपाली साहित्य पनि विश्वस्तरमा दखल राख्नेछ तर भाषा रूपान्तरणमा समस्या छ।’

यहाँ रहेका संस्कृतिलाई आधार बनाएर तयार परिएको साहित्य पनि विश्व साहित्यमा पुग्नसक्ने उनको भनाइ छ। तर अनुवाद राम्रो गर्नुपर्ने, कसैले पढ्दैमा हाम्रो साहित्य विश्व साहित्य नहुने उनको मत छ। ‘तपाईंले पढेर मेरो साहित्यलाई विश्वस्तरको साहित्य छ दाइ तपाईंको भनेर हुन्छ?’ यसका लागि विश्वका अन्य मुलुकका पाठकले पढ्न सक्ने हुनुपर्ने अनि मात्र नेपाली साहित्य पनि विश्व साहित्यको तुलनामा आउने उनी प्रस्ट पार्छन्।

उनले अमेरिकाको भ्रमणका क्रममा एउटा पुस्तक तयार पार्ने अठोट गरेअनुसार पाठकमाझ ल्याउन लागेको बताए। उनले ‘तल्लो बाटो’ नामक उपन्यास प्रकाशन गर्ने तयारी गरिरहेका छन्। उनको उक्त उपन्यास विभिन्न देशका युरोप, अमेरिकालगायतका देशमा छिर्ने मानिसको कथामा आधारित भएको उनी बताउँछन्। ‘हाम्रा जस्ता विकासोन्मुख देशका जनता मोटो रकम तिरेर अमेरिका जाने गरेको कुरालाई आधार बनाएर यो उपन्यास लेखेको हुँ’, उनी भन्छन्, ‘यसमा अमेरिका जान संघर्ष गर्नेहरूसँगको अन्तर्वार्तालाई पनि समेटेको छु।’ एजेन्टलाई ३०/४० लाख रुपैयाँ तिरेर अमेरिका छिर्नेको कथा यसमा हुने उनी बताउँछन्।

'महिलाको विषयमा गम्भीर छु'

झापाबाट साहित्य यात्रा सुरु गरेका धरावासीका कृतिहरू दर्जन बढी चर्चित छन्। उनका लेखन धेरैजसो महिलाका पक्षमा पाउन सकिन्छ। उनी महिलाका पक्षमा अलिक बहकिने गरेको स्वीकार्छन् पनि। भन्छन्, ‘यो समाजमा महिलाको अवस्था एकदम कमजोर छ, त्यसैले म महिलाको विषयमा अलिक गम्भीर हुने गर्छु।’

विश्वमै महिला ‘डोमिनेटेड’ भएका र विकसित देशका महिलाको अवस्था पनि यस्तै रहेको उनको बुझाइ छ। महिला डोमिनेट हुनुमा प्राकृतिक कारण नै प्रमुख भएको उनी बताउँछन्। ‘प्रकृतिले महिला बनाएका कारण नै धेरै डोमिनेटेड हुने गरेका छन्’, धरावासी भन्छन्, ‘त्यस कारण पनि म महिलाका पक्षमा धेरै कलम चलाउने गर्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.