दुई भोटले हारेपछि कोइराला निवासमा चर्काचर्की

|

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे  २ मत अन्तरले उद्धव थापासँग पराजित भए।

प्रदेश १ मा संस्थापन पक्ष र सिटौला पक्षका उद्धव थापा र संस्थापन इतरबाट गुरु घिमिरे प्रतिष्पर्धामा थिए।  घिमिरेलाई आफ्नै समूहका तीन शीर्ष नेताले मतदान नगर्दा सभापति पदमा पराजित बेहोर्नुपरेको चर्चा चुलिएको छ।

मतगणना प्रति असन्तुष्टि व्यक्त गर्दै थापासँग पराजित घिमिरेले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदनसमेत दिएका छन्। जसबारे केन्द्रले टुंगो लगाउने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ।

तीन शीर्ष नेताले दिएनन् मतदान

उद्‍घाटन सत्रमा हतार गर्दै सम्बोधन गरेका सुजाता कोइरालाले आफ्नो धारणा राखेर मञ्चबाट बिदा लिइन्। यस्तै, अबेरसम्म आफ्नो धारणा राख्न मञ्चमा आसिन डा. शेखर कोइराला मतदानमा भने सहभागी भएनन्।

यस्तै, महेश आचार्यले पनि मञ्चमा भाषण गरे, मतदान हुने दिन शनिबार बिहान महेश आचार्यले पत्रकार सम्मेलनको आयोजना गर्दै  उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका थिए।

पत्रकार सम्मेलनपश्चात् १० बजेका लागि काठमाडौं उड्दै गर्दा विराटनगरमा भने दुई बजेतिर मात्रै मतदानको तयारी हुँदै थियो। उनीबाहेक अन्य  शीर्ष नेताहरु भने विराटनगरमै थिए।

यदि उनीहरू सहभागी भइदिएका भए घिमिरेले चुनाव जित्ने नतिजाको आंकलनले देखाएको छ। झापाका थापाले ८४४ मत प्राप्त गर्दा गुरुले भने ८४२ मत मात्रै पाए।

संस्थापन पक्षका नेताहरु उपसभापति विजय गच्छदार, कृष्णप्रसाद सिटौला, अमृत अर्याल लगायतले मतदान गर्दा निर्वाचनस्थलमै रहेका शेखर, सुजाता र महेश आचार्यले मतदान गरेनन्।  कार्यक्रममा उपस्थित नेता बलबहादुर केसी पनि मतदानमा सहभागी भएनन्।

 कोइराला निवासमा चर्काचर्की

अधिवेशनको सन्दर्भलाई लिएर कोइराला निवासमा बिहानैदेखि कार्यकर्ता र नेताबीच चर्काचर्की भएको कांग्रेस स्रोतले जनाएको छ।

गुरुराज घिमिरेले ठूलै अन्तरले जित्ने आंकलन गरेको बताउदै  पौडेल –कोइराला पक्षका एक नेताले भने,‘नेताहरू भोट हाल्न नगएपछि दुईमतले हार्नुपर्‍यो।’

‘यसै पनि हाम्रो संख्या कमजोर थियो,’ पौडेल कोइराला पक्षका ती नेताले भने ‘तैपनि ठूलै अन्तरले गुरुले जित्ने आंकलन गरेर नेताहरु भोट हाल्न गएनन् । अन्ततः दुई मतले हार्नुपर्‍यो।’

नेपाली कांग्रेस प्रदेश १ सभापति पदमा  घिमिरेलाई उम्मेद्वार बनाउन डा. शेखर कोइरालासहितका नेताहरू जोडतोडले लागेका थिए। प्रदेश १ कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र घिमिरेले दाबी पेश गर्दा राजीवको पक्षमा सुजाता कोइराला र प्रदेश १ संसदीय दलका नेता केदार कार्की मात्रै उभिए।

रक्षामन्त्रीसमेत रहेका डा. मीनेन्द्र गच्छदार, सिटौला सबैले भोट हाल्दा आफ्नै  नेताहरु मतदानमा नआउनुले पनि हार बेहोर्नु परेको ती कोइराला समूह मोरङका एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.